जेष्ठ ८, २०८१ मंगलबार

चारपानेका महिला नौमति बाजा संरक्षणमा सक्रिय

विर्तामोड । लोप हुँदै गएको नौमति बाजा संरक्षणमा महिलाहरुले सक्रियता देखाएका छन् । झापा विर्तामोड–२ चारपानेका महिलाहरुले बाजा संरक्षणमा विशेष चासो देखाएका हुन् । गत हप्तादेखि नौमति बजाउने तालिम समेत लिन थालेका छन् । उनीहरुलाई विर्तामोड–६ का दुर्गा प्रसाद ठटाल र अमृत बहादुर दर्नालले नौमति बजाउन सिकाइरहेका छन् ।

स्टेज र सडक नाटकमा देखिने चारपाने क्षेत्रका अगुवा महिलाहरु अहिले धमाधम नौमति बजाउन सिकिरहेका छन् । उनीहरुले दश दिनदेखि बाजा बजाउन थालेका हुन् । दश दिनमा सनाई बाहेकका अन्य बाजा बजाउन सिकिसकेको मीना प्रसाईको भनाई छ ।

कला केन्द्रका महिलाहरुले पूर्वेली नौमति महिला समूह बनाएर बाजा संरक्षणमा लागेको बताएका छन् । उनीहरुले राष्ट्रिय बाजा संरक्षण गर्न सबैको दायित्व रहेको बताए ।

विर्तामोड –२ बाट १ लाख, नगरपालिकाबाट ३० हजार संस्थाको १५ हजार लगानी गरेर खरिद गरेका बाजाबाट १५ जना महिलाले प्रशिक्षण लिइरहेका छन् । लकडाउनले गत वर्ष रोकिएको सिकाई अब दुई महिनाभित्र पुरा गर्ने उपाध्यक्ष शान्तादेवी पौडेलले जानकारी दिएकी छन् ।

दर्जी समुदायले बजाउने बाजा भएकाले धेरै महिला खुलेर बाहिर आउन नसकेको उनीहरुको भनाई छ । उपाध्यक्ष पौडेलले भनिन्, कतिपय महिला बाहिर बजाउन सक्दैनौं भन्नुहुन्छ, तर हामी खुलेयाम सिक्दै बजाउदैछौं । परिवारबाट ठुलो सहयोग रहेको भन्दै उनले नयाँ पुस्तालाई बाजा सिकाउन जरुरी रहेको बताइन् । ‘अब दमिनी हुने भयौं भनेको पनि सुन्छौं, भन्नेले भन्दै गरुन् । हामी नौमतिको संरक्षण गर्दै विभेद्को पनि अन्त्य गर्न चहान्छौं ’ उनले थपिन् ।

शनिवार विर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा भेटिएका महिलाहरु त्यहाँ क्याटरिङ समेत सिक्दैछन् । उनीहरुले भिजिटमा आएका अन्य विधालयका विधार्थीलाई नौमति बजाएर मनोरञ्जन प्रदान गरेका थिए । सुशिला दाहाल, मिरा चम्लागाई, निर्मला प्रसाई उप्रेती सनाई बजाउन सिकिरहेका छन् । यस्तै, नरसिङ्हा बजाउन मनिषा पाठक सिटौला, चन्द्र सिटौला, दमाहा बजाउन सृजना गौतम, शान्ता पौडेल, बामताल बजाउन गोमा प्रसाई विमली, झ्याम्टा मिना प्रसाई, सावित्रा शिवाकोटी, टेम्को बजाउन शोभा विमली र ढोलकी बजाउन कृष्णमाया बुढाथोकीले प्रशिक्षण लिइरहेका छन् ।

उनीहरुले निर्धक्क रुपमा नौमति बाजा बजाउन सक्ने र आगामी दिनमा कार्यक्रमहरुमा समेत व्यवसायिक रुपमा बजाउदै जाने बताएका छन् ।

प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]