चैत्र १५, २०८० बिहीबार

कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात

सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको हो । आयोजकका लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा आयोजकका लागि पहिलो गोल भुपेन लिम्बूले खेलको ४७औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै, रमेश बाँस्तोलाले ५८औँ र नरेन्द्रमणि लिम्बूले ७३औँ मिनेटमा गोल गरेर टिमका लागि जीत सुनिश्चित गरे ।

खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता भुपेन लिम्बू घोषित भए । उनलाई युवा व्यवसायी श्याम प्रसाईले नगद २ हजार प्रदान गरे । उनको खेल मन पराएर स्थानीय खेलप्रेमी लय उप्रेतीले पनि नगद ५ सय पुरस्कार प्रदान गरे ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । आइतबार हाम्रो इटहरी भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रतियोगिताको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए । क्लबका अध्यक्ष राजेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेल, ३ नम्बर वडाध्यक्ष रुद्रप्रसाद चिमरिया र कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडाले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]