जेष्ठ २, २०७८ आईतबार

जुनसुकै बेला निर्वाचन हुन सक्छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनस्र्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए ।

सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरुको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भएपनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रवक्ता ज्ञवालीका अनुसार सरकारको कामको समीक्षा गर्दै प्रतिवेदनमा धेरै प्रतिकूलताका बाबजुद महत्वपूर्ण उपलब्धी हासिल भएको राजनीतिक प्रतिवेदनको निष्कर्ष छ ।

पार्टी निर्माण तथा सुद्धीकरण र सवृद्धिको अभियानलाई तीव्रता दिने पार्टी आगामी कार्यभार भएको प्रतिवेदनमा उल्लेख छ । प्रवक्ता ज्ञवालीले भने, ‘तेस्रामा कुनै पनि बेला निर्वाचनमा जानु पर्ने भएकाले तम्तयार हुन पार्टी पङ्तीलाई आह्वान गरिएको छ ।’

पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन आह्वान गर्न आह्वान गरिएको छ । ‘अहिले विभाजनकारी गतिविधिमा लागेका नेताहरुले अन्तिम विनाश हुनुभन्दा अगाडि आफैंले आफैंलाई गम्भीरतापूर्वक रिभ्यु गर्नुस् र गलत बाटो छोड्नुस भन्ने हाम्रो आश्य छ ।’ प्रवक्ता ज्ञवालीले भनेका छन् ।

बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ, जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ । जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट