बैशाख २१, २०८१ शुक्रबार

झापामा जुट्यो अपेक्षाभन्दा बढी अक्सिजन सिलिण्डर

प्रदीप परियार

विर्तामोड । झापाका विभिन्न संघ संस्था र राजनीतिक दलले अक्सिजन सिलिण्डर जुटाउन सक्रियता देखाएका छन् । सक्रियता अनुसार अक्सिजन सिलिण्डर सहयोग गर्नेहरुको लर्को लागेको छ । अभियान सञ्चालन गर्नेहरुले अपेक्षाभन्दा राम्रो गरी सिलिण्डर जुटिरहेको जानकारी दिएका छन् ।

झापामा एकका लागि एक अभियान र नेकपा एमाले विर्तामोड नगर कमिटीले अक्सिजन सिलिण्डर खरिदका लागि सहयोग संकलन गरिरहेका छन् । एमालेले विर्तामोडको नगर अस्पताललाई प्रदान गर्ने उदेश्यले सिलिण्डर जुटाइरहेको नगर सचिव सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार ५० थान अक्सिजन सिलिण्डर नगर अस्पताललाई सहयोग हस्तान्तरण गर्ने घोषणा गरिएको छ । घोषणा अनुरुप सिलिण्डर संकलनको काम भइरहेको छ । सिलिण्डर सहयोग गर्नेबाट धमाधम रकम उपलब्ध भइरहेको भट्टराईको भनाई छ ।

यस्तै, एकका लागि एक अभियानले ४ सय थान सिलिण्डर जुटाउने गरि अभियान थालेको थियो । अभियानका संयोजक महेन्द्र गिरीले लक्ष्य अनुरुप अभियान सफल भइसकेको जानकारी दिए । ४ सय संकलन गर्ने भनिए पनि अभियानलाई ७ सय सिलिण्डर खरिद गर्ने आर्थिक सहयोग जुटेको छ । अभियानलाई जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिहरुले सिलिण्डर खरिदका लागि आर्थिक सहयोग गरेका छन् । एक सिलिण्डर बराबर १५ हजार सहयोग संकलन भइरहेको अभियानका संयोजक गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लामा २४४ थान सिलिण्डर रहेको जानकारी दिए । विर्तामोडको जलकन्या, कपुरी र दमकको एक व्यवसायीले झापामा स्वास्थ्य संस्था र अन्य क्षेत्रलाई सिलिण्डर उपलब्ध गराउदै आएका थिए । चौलागाईका अनुसार झापालाई १ हजार सिलिण्डरको आवश्यक पर्छ ।

एकका लागि एक अभियान, नेकपा एमाले विर्तामोड, निर्माण व्यवसायीले उपलब्ध गराएको सिलिण्डरले जिल्लाको माग धान्न सक्ने देखिएको छ । निजी अस्पतालहरुमा पनि केहि मात्रामा सिलिण्डर रहेको बुझिएको छ । झापाका सप्लायर्सहरुले विराटनगरबाट अक्सिजन भरेर सेवा प्रवाह गर्दै आएका थिए । कोभिड महामारीमा अक्सिजनको आवश्यकता बढेपछि जिल्लामा मेची अस्पताल, विएण्डसी, विर्तासिटी लगायतले आफै प्लाण्ट सञ्चालनको तयारी गरिहरेका छन् ।

एकका लागि एक अभियानका संयोेजक गिरीले स्थानीय तह र संघ संस्थाहरुको सहकार्यमा जिल्लामै ठुलो प्लाण्ट सञ्चालन गर्न सकिने बताएका छन् । उनले झापाका १५ पालिकालाई ३ करोड जुटाएर अक्सिजन प्लाण्ट व्यवस्था गरे सिलिण्डर दिन तयार रहेको सार्वजनिक रुपमै प्रस्ताव गरेका थिए । यसैबिचमा झापा प्रहरीले समेत सिलिण्डर संकलन गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]