बैशाख ११, २०८१ मंगलबार

महामारीमा पूर्व विधार्थीको सहयोग

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिकाले सुरुङ्गा स्वास्थ्य केन्द्रमा स्थापना गरेको आइसोलेशन कक्षमा आवश्यक अक्सिजन सिलिण्डर खरिदका लागि कनकाई माविका बिद्यार्थीबाट सहयोग जुट्दो क्रम जारी छ ।

यसै क्रममा पछिल्लो पटक कनकाई माविका एसएलसी वर्ष २०६३ को व्याचका विद्यार्थीले रु.६३ हजार सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सोमबार नगर परिसर मै पुगेर विद्यार्थी प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । एसएलसी ब्याच २०६३ का २२५ जना पूर्व विद्यार्थीबाट फेसबुक ग्रुपमा भएको कुराकानीबाटै जम्मा भएको उक्त रकमको चेक हस्तान्तरण गर्दै पूर्व विद्यार्थी भीम राजवंशीले प्रारम्भिक चरणको रकम अक्सिजन खरिदका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरेको बताए । उनले आँफूहरुले गरेको सानो सहयोगले विरामीको उपचार सेवामा ठूलो टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यसैगरी २०६३ कै ब्याचका बिद्यार्थीबाट अहोरात्र सुरक्षामा खट्ने ईलाका प्रहरी कार्यलय सुरुङ्गाका सुरक्षाकर्मीलाई पनि सर्जिकल मास्क , सेनिटाईजर , ग्लोब्स जस्ता आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका छन् भने ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदयसमशेर जबराले उक्त सामग्री ग्रहण गर्दै कोभिडको यो विषम परिस्थितिमा बिद्यार्थीबाट भएको सहयोगले सामाजिक सुरक्षाको क्षेत्रमा अग्रसर रहन थप हौसला प्रदान भएको बताएका छन् ।

यसैगरी यसअघिनै कनकाई माविकै एसएलसी २०५७ ब्याचका बिद्यार्थीले पनि सुरुङ्गा स्वास्थ्य केन्द्रमा आवश्यक अक्सिजन ग्यास खरिदका लागि नगद ४२ हजार रुपैँया नगर प्रमुखलाई हस्तान्तरण गरिसकेका छन् । उक्त रकम हस्तान्तरण गर्दै २०५७ ब्याचका बिद्यार्थी दुर्गा भण्डारीले आफुहरुसँग अझैपनि पूर्व विद्यार्थी साथीहरुबाट सहयोग रकम संकलन भइरहेको भन्दै अझै पनि कोरोना लागेर पोसिलो खानेकुरा खान नपाएर छटपट्टाई रहेका कनकाई नगरपालिका क्षेत्रका नागरिक र आफ्ना ब्याजका विद्यार्थीहरुका लागि सहयोग निरन्तर जारी राखिने बताएका छन् ।

कनकाई माविको एसएलसीका प्रथम ब्याचका बिद्यार्थी समेत रहेका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आइसोलेशन कक्ष संचालनमा पूर्व विद्यार्थीहरुबाट भएको सहयोगले नगरपालिकालाई थप उर्जा मिलेको भन्दै सबै सहयोगी पूर्व बिद्यार्थीलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै यस विद्यालयका हालसम्मका एसएलसीका सबै व्याचबाट यो संकटको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]