बैशाख १७, २०८१ सोमबार

सुटुक्क खोप लैजाने कांग्रेस नेता कार्की र मोदीको कर्तुत सार्वजनिक

विराटनगर । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाएकोमा विरोध जनाउँदै आएका नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सुटुक्क जिल्ला स्वास्थ्य कार्यालय मोरङ मार्फत खोप लगेको रहस्य सार्वजनिक भएको छ ।

खोप वितरणका सन्दर्भमा कांग्रेस नेता कार्कीले चर्को आलोचना गर्दै आएका छन् । उनले विज्ञप्ति मार्फत खोपबारे प्रश्न उठाएका थिए । कार्कीले सोमबार अपरान्ह स्वास्थ्य कार्यालयमा आफ्ना एक जना कार्यकर्तालाई पठाएर तीन भायल खोप लगेको श्रोतले बताएको छ । उनले खोप मागेपछि स्वास्थ्य कार्यालयले संम्बन्धित निकायसँग समन्वय गरेर खोप दिएको हो । उनले यसअघि खोप वितरणप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकालेका थिए । सो विज्ञप्ति निकाल्नु अघिल्लो दिन सामाजिक विकास मन्त्री उषाकला राईसँग खोप मागेका थिए । राईले नाम लिस्ट सहित निवेदन दिन आग्रह गर्दा उनले इन्कार गरेको मन्त्री निकट श्रोतले बताएको छ ।

मन्त्री राई गृहजिल्ला खोटाङ गएको मौका छोपी कार्कीले खोप लगेका हुन् । उनले सो खोप कहाँ लगाए भन्नेबारे एकिन भएको छैन । सचेतक कार्कीले भने पत्रकारहरुसँग आफुले खोप नलगेको दावी गरेका छन् । उनले आफुले फ्रन्टलाईनरलाई दिनका लागि खोप मागिरहेको बताए । खोप वितरण प्रकृयाप्रति असन्तुष्टि जनाएका कार्कीले केही दिनअघि प्रदेशसभा, मुख्यमन्त्री कार्यालयमा साना तथा ठुला कर्मचारीसँग च्यानल मिलाएर आफ्ना मानिसलाई खोप लगाएको श्रोतले बताएको छ ।

पहिलो डोज खोप लगाएर विभिन्न जिल्लामा मौज्दात रहेको खोप प्रदेश १ स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रमा जम्मा भएपछि सामाजिक विकास मन्त्रालयले फ्रन्टलाईनमा खटिने व्यक्तिहरुलाई संघ संस्थाको सिफारिसमा खोप लगाएको हो । मन्त्रालयका अनुसार मौज्दातमा रहेको खोप कुनै पनि स्थानीय तहमा लगाउन नपुग्ने भएपछि राजधानीमा केन्द्रित रहेका फ्रन्टलाईनर संस्थाहरुको सिफारिसमा दोश्रो डोज खोप दिईएको छ ।
खोप लगाउने जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई दिईएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव विरेन्द्र मगरले जानकारी दिएका छन् ।

मोदीको अर्को कर्तुत
विवादास्पद सिटी सिनेमा हलमा खोप लगाउने अभियानमा विघटित संघीय संसदका सांसद अमनलाल मोदीले पनि खोप लगाएका छन् । उनले खोप लगाउने वित्तिकै उनकै स्वकीय सचिव ताजिम अन्सारीले त्यहाँ नारावाजी समेत गरेका थिए ।
एक महिनाअघि सामाजिक विकास मन्त्रालय मर्फत सोर्स लगाएर पहिलो खोप लगाएका मोदीले सिटी सिनेमा हलमा पहिलो डोज लगाएको अवधि नपुगी ४ हप्तामै खोप लगाएको खोप कार्यमा संलग्न एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार त्यहाँ १५ भायल खोप लगाएर १५० जनाको नाम मन्त्रालयमा दिईएको छ ।

स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार एक भायल खोपले ११ जनालाई सम्मलाई लगाइने गरिएको छ । कतिपय सन्दर्भमा यो विवरण नराखीकन खोप कार्ड मात्रै दिईएर खोप लगाउने गरिएको छ । त्यसदिन पनि १६० भन्दा बढीले खोप लगाएको नाम नबताउने शर्तमा खोप कार्यमा संलग्न एक कर्मचारीले बताए । मोदी लगत्तै खोप लगाएकी एक महिलाले भनिन्,‘ उहाँ कुर्सीमा गएर बस्नुभयो, मलाई खोप लगाभन्नुभयो अनि खोप लगाएर हिड्नुभयो, तर सामाजिक सञ्जालमा आएका नामहरुमा उहाँको नाम थिएन ।’
मोदीले पनि आफुले खोप नलगाएको दावी गरेका छन् । तर पत्रकारहरुले उ त्यहाँ पुगेको तस्वीर नै सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]