बैशाख १३, २०८१ बिहीबार

७० प्रतिशत उद्योग–व्यवसाय कोरोनाबाट प्रभावित

काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो अनुमान गरिएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकीमा ७५ प्रतिशत, बागमतीमा ६९ प्रतिशत, प्रदेश २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४.५ प्रतिशत, सुदूरपश्चिममा ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग–व्यवसायमा असर देखिएको महासङ्घले जनाएको छ ।

महासङ्घले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग–व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद गरेको थियो । प्राप्त विवरणअनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग–व्यवसाय, पिउने पानी, कृषिबाहेकका सबै क्षेत्रका उद्योग–व्यवसाय ठप्प छन् । पसलहरू बिहान तीन–चार घण्टा मात्र खुल्ने गरेका छन् ।

दोस्रो लहरको कोभिड सङ्क्रमणको विस्तार भएसँगै महासङ्घले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आमसर्वसाधारणको साथमा रहेको प्रतिबद्धता जनाउँदै सबै सञ्जाल परिचालित गरिएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार यसबीचमा करिब एक सयवटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू यतिबेला कुनै न कुनै रूपमा मानवीय सहायतासँग जोडिएका छन् ।
महासङ्घका केही सदस्य उद्योग वाणिज्य सङ्घहरूले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आईसीयू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेका छन् । त्यस्तै कतिपय सङ्घहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन् ।

महासङ्घका वस्तुगत सङ्घहरूले पनि आआफ्नो तहबाट सहयोग गरिरहेको बताइएको छ । महासङ्घ आफैँले पनि काठमाडौँ र ललितपुरमा गरी तीनवटा आइसोलसेन सञ्चालन गरी कोभिड सङ्क्रमितको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ । यसका लागि महासङ्घले राहत कोष नै खडा गरेको छ । महासङ्घले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइसोलेसन केन्द्र अक्सिजनसहित चालू छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुरमा अक्सिजनबिनाको ड्राइ आइसोलेसन सञ्चालन गरिरहेको छ । गोरखापत्रबाट

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]