बैशाख २७, २०८१ बिहीबार

नेकपा झापाको इञ्चार्जमा कोइराला र धर्मशिला

विर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी झापाको जिल्ला इञ्चार्ज र सह इञ्चार्ज बन्न र बनाउन नेताहरुको दौडधुप शुरु भएको छ । साउन ५ गते बस्ने केन्द्रीय सचिवालयको बैठकले देशभरको इञ्चार्ज टुङ्गो लगाउँदैछ ।


अहिले इञ्चार्जमा पूर्व माओवादीका तर्फबाट पार्टीका प्रदेश कमिटी सदस्य झलकसिंह दर्लालीको नाम चर्चा छ । चर्चामा रहेपनि दर्लामी केन्द्रीय कमिटीमा नरहेकाले इञ्चार्जको संभावना नरहेको पार्टीका नेताहरु बताउँछन् ।


पार्टीको नीतिमा केन्द्रीय कमिटीका सदस्यमध्येबाट जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकिने व्यवस्था रहेको पार्टी स्रोतको भनाई छ । प्रदेश कमिटी सदस्यबाट क्षेत्रीय इञ्जार्च, सहइञ्चार्ज तोक्ने व्यवस्था रहेको छ । झापा जिल्लामा पार्टीको नीति अनुसार स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको जिल्ला कमिटी सदस्य एवम् कमल गाउँपालिकाका इञ्चार्ज शिव ढुङगेलले जानकारी दिएका छन् ।


एमालेका तर्फबाट अध्यक्ष रहेका जिल्लाहरुमा पूर्व माओवादीबाट इञ्चार्ज रहने गरिको व्यवस्था गरिएको छ । झापामा राम कार्की र धर्मशिला चापागाई पूर्व माओवादीबाट केन्द्रीय सदस्य छन् । कार्की हाइप्रोफाइलका नेता हुन्, उनी जिल्ला इञ्चार्ज हुन आउदैनन् ।


३३ जिल्लामा पूर्व माओवादीबाट अध्यक्ष छन् भने ४४ जिल्लामा पूर्व एमालेले जिल्ला इञ्चार्ज पाउने छन् । यसले गर्दा ११ जिल्लामा पूर्व एमालेबाट जिल्ला अध्यक्ष र इञ्चार्ज दुवै हुने निश्चित छ । झापा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला भएकाले अध्यक्ष र जिल्ला इञ्चार्ज पूर्व एमालेबाटै हुने संभावना बलियो छ ।


झापामा पूर्व एमालेबाट हाल केन्द्रीय सदस्यमा नरेश खरेल, देवेन्द्र दाहाल, रविन कोइराला र हरि राजवंशीले प्रतिनिधित्व गरिरहेका छन् । अग्रज नेता खरेल पूर्व एमालेका पोलिटव्यूरो सदस्य भइसकेका नेता हुन् । १५ वर्ष झापा पार्टीको नेतृत्व गरेका दाहाल कुशल संगठक हुन् । कोइराला पूर्व एमाले झापाका निवर्तमान इञ्चार्ज हुन् । राजवंशी संविधान सभाका सदस्य हुन् ।


सिनियर नेताबाट इञ्चार्ज बनाएमा खरेलको संभावना देखिन्छ भने दाहाल कुशल संगठक र ओलीका विश्वास पात्र समेत रहेकाले उनको समेत उत्तिकै संभावना छ । तर, दुई अध्यक्ष ओली– दाहाल, राम बहादुर थापा र विष्णु पौडेल विच पूर्व इञ्चार्जहरुलाई नै प्राथमिकता दिने सहमति भएको छ ।

झापाबाट प्राथमिकतामा पूर्व इञ्चार्ज भएकाले रविन कोइराला नै इञ्चार्ज हुने पक्का जस्तै छ भने पार्टीको नीति र नेताहरु विचको सहमति अनुसार सहइञ्चार्जमा धर्मशिला चापागाई बन्ने निश्चित छ ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]