भुक्तानीमा आलटाल गरेपछि अर्जुनधारा नगरपालिकामा तालाबन्दी
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा तालावन्दी गरिएको छ । नगर भित्रका विभिन्न विधालयहरुको अगुवाईमा तालावन्दी गरिएको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए ।

राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत विधालयहरुले भुक्तानी नपाएपछि तालावन्दी गरिएको शिक्षक खत्रीको भनाई छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर क्षेत्रका १५ वटा विधलायले न्यूनतम साढे ६ लाखदेखी ३६ लाखसम्म बजेट प्राप्त गरेका थिए । भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न सो कार्यक्रमबाट करोडौं रुपैयाँ नगरपालिकामा पठाइएको थियो ।
विधालयहरुले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विधालय प्रशासनको आरोप छ । खत्री भन्छन्, असार १५ गतेभित्र विल भरपाई बुझाएका थियौ । अहिले बजेट फ्रिज भयो, फिर्ता गयो भन्दै आलटाल गर्ने काम भइरहेको छ ।
सबै विधालयले ऋणपान गरेर आवश्यक संरचना बनाइसकेका छन् । सामग्री खरिद गर्दा बाँकी गर्दै काम चलाइएको थियो, उनले भने – अब नगरले भुक्तानी नदिदाँ के घर जग्गा बेचेर तिर्नु ?
रकमको सुनिश्चितता गर्न आलटाल गरेका कारण तालावन्दी गरिएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले जानकारी दिए । उनले नगरपालिकालको कमजोरीले भुक्तानी हुन नसकेको बताए । २÷४ विधालय बाहेक अधिकांश विधालयले भुक्तानी नपाएको बुझिएको छ ।