बैशाख २५, २०८१ मंगलबार

झापाको सुरुङामा खोप लगाउन माग गर्दै सडक निर्माण बन्द

झापा – झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।

उनले भने, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले जानकारी दिए । सो सडक खण्डको निर्माणमा १३० मजदूर कर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिनाअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैँकसम्म २४ किलोमिटर छ ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब चार करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ ।

विसं २०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले विसं २०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]