चैत्र १५, २०८० बिहीबार

बिर्तामोड खोप काण्ड : आइतवारसम्म प्रतिवेदन बुझाउने तयारी

बिर्तामोड । कोरोना विरुद्धको खोप लुकाएको आरोप लागेपछि झापामा त्यसको छानविन भइरहेको छ । बिर्तामोड नगरपालिकाका तत्कालिन कोभिड फोकल पर्सन ओम खड्काले खोप लुकाएको आरोप लगाइएको थियो । सोही खोप बारे छानविन गर्न झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाइएको छ । समितिले छानविनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

एक साताभित्र छानविन प्रतिवेदन बुझाउन म्याण्डेड दिए पनि समितिले थप एक हप्ता समय मागेको थियो । सोही अनुसार आउँदो आइतवारसम्मका लागि छानविन समितिलाई समय उपलब्ध गराइएको छ । समितिका संयोजक रिमालले आइतवारसम्म प्रतिवेदन बुझाउने गरि काम गरिरहेको जानकारी दिए । उनले भने, आइतवारसम्म सिडिओ सावलाई प्रतिवेदन दिन्छौं । अहिले पनि आवश्यक छानविनको काम चलिरहेको छ, रिमालले भने – छानविन पुरा नभएको खण्डमा फेरि समय माग गर्न पनि सक्छौं ।

समितिले तत्कालिन फोकल पर्सन खड्कासँग लिखित स्पष्टीकरण मागेको छ । यस्तै, समितिले प्रत्यक्षदर्शी, होटल सञ्चालक, स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिकासँग आवश्यक सोधपुछ गरिसकेको छ ।
खड्काले होटलमै खोप ल्याइदिन भनेपछि स्वास्थ्य कार्यालयका कर्मचारी र खोप प्राविधिकले होटल मै खोप छोडिदिएका थिए । खड्काले आरोप लगाउनहरुकै सामुन्ने खोप बुझेर होटलका स्टाफलाई राख्न दिएको दावी गर्दै आएका छन् । ६ घण्टासम्म बाहिर राख्न सकिने गरि स्वास्थ्य कार्यालयले खोप व्यवस्थापन गरेर ल्याइदिएको प्राविधिकको भनाई छ । खड्काले जवरजस्ती खोप लुकाएको आरोप भोग्नु परेको दुखेसो गर्दै आएका छन् ।

घटना भएको २ दिनअघि नगर अस्पताल पुगेको एक समूहले खोप कहाँ राख्ने गरेको छ भन्दै कर्मचारीसँग सोधपुछ गरेका थिए । भद्रपुरमा खोप लुटिएको घटना तात्तातो हुँदै युवाहरुको सो समूहले खोप बारे बुझ्न नगर अस्पताल पुगेपछि स्वास्थ्यकर्मी झस्किएका थिए । बिर्तामोड नगर अस्पतालमा खोप असुरक्षित हुने देखेपछि नगरको स्वास्थ्य शाखाले नगरपालिकामा खोप राख्न थालेको थियो । शुक्रवार भएका कारण खोप मैले आफै नगरपालिका लैजानु पर्यो भनेर गाडि बोलाएको थिए, खड्का भन्छन् । गाडि खोप लिन आइसक्दा त्यहि बसिरहेका साथीहरुले खोप लुकाएको आरोप लगाउनु भयो । उनले खोप लुकाएको प्रमाणित भएमा कारवाही भोग्न तयार भएको बताएका छन् ।

बिर्तामोडस्थित टाइमलेस मोमेन्टमा १०३ भायल खोप लुकाएको आरोप लगाइएको छ । सो खोप बिर्तामोडमा मेयर धु्रव कुमार शिवाकोटी र खड्काले दिउँसो स्वास्थ्य कार्यालयसँग माग गरेका थिए । सोही अनुरुप खोप पठाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप माग गर्दा निजी विधालयका शिक्षक समेत साथ मै रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
लुकाएको भनिएको खोप बारे त्यहि दिन ३ बजेर १ मिनेटमा स्वास्थ्य कार्यालय झापाले बिर्तामोडलाई इमेल गरेको छ । खोप पठाएको औपचारिक जानकारी हुँदा समेत लुकाएको आरोप लगाउँदा बिर्तामोडमा कर्मचारी, स्वास्थ्यकर्मी अचम्ममा परेका छन् ।

यता, कार्टुनमा खोप ल्याएको सन्दर्भमा समेत प्रश्न उठेको छ । यसबारे स्वास्थ्य कार्यालय झापाका खोप प्राविधिकहरुले बाहिर कार्टुन देखिए पनि खोप खुरक्षाका लागि भित्र अपनाउनु पर्ने सबै मापदण्ड अपनाइने बताएका छन् । उनीहरुले अरु बेला पनि आवश्यक मापदण्ड पुरा गरेर कार्टुन मै खोप ल्याउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]