बैशाख १७, २०८१ सोमबार

कनकाई आत्महत्या प्रकरण : हरेक दिनको ताकेताका कारण आत्महत्याको संभावना

बिर्तामोड । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा एकै परिवारका तीन जनाले आत्माहत्या गरेपछि उनीहरुले किन आत्महत्या गरे भन्ने विषयको खोजी शुरु भएको छ । नाबालकसहितले आत्महत्या गर्नुपर्ने परिस्थिति कसरी आयो ? सबैको कौतुहलताको विषय बनेको छ ।
आत्महत्या गर्ने परिवार नजिकै उनको काकीको घर छ । काकीले आज विहान किन उठेनन् भनेर झ्यालबाट हेर्दा बच्चा सहित झुण्डिएको अवस्थामा देखेर सबैलाई खवर गरेकी थिइन् ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाको बच्चा झुण्डिएको अवस्थामा फेला परेका छन् । अहिलेसम्म घरको ढोका खोलिएको छैन । प्रहरीका अनुसार माइती पक्ष उदपुरबाट आएपछि मात्रै ढोका खोल्ने बुझिएको छ ।

आत्महत्याको कारण आर्थिक कारोवारको आशंका
स्थानीयका अनुसार रविन विकको घरमा केहि समयदेखि पैसा माग्न आउनेहरुको लर्को लाग्ने गरेको थियो । दैनिक ८/१० जना पुरुषहरु पैसाका लागि उनीहरुको घर पुग्ने गर्थे । पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउन युवाहरुलाई मेनपावरसँग सम्पर्क गराउँदै आएका विक पैसाको ताकेताले नै आत्महत्या गर्न बाध्य भएको अनुमान गरिएको छ ।

सोही वडाका वडाध्यक्ष रोशन पोखरेलका अनुसार ताकेता आत्महत्याको कारण हुन सक्ने बताउँछन् । पोखरेलले भने– त्यो संभावना छ , थप अनुसन्धानले पक्कै बाहिर आउला । वडाध्यक्षलाई पनि विकसँग पैसा उठाइदिन भन्दै तीन दिनअघि युवाहरुले फोन गरेका थिए । फोन गर्नेहरु ओखलढुङ्गाका थिए । उनीहरुलाई वडाध्यक्षले व्यक्तिगत रुपमा पैसा उठाउन नमिल्ने भन्दै न्यायिक समितिमा जान सूझाव दिएका थिए ।

प्राप्त जानकारी अनुसार कम्तिमा ४०/५० जना वैदेशिक रोजगारमा जानेको पैसा डुवेको छ । उनै विकको सम्पर्कबाट मेनपावर पुगेकाहरुको लगानी डुवेपछि विकको सम्पर्कमा आएका थिए । उनीहरुको कम्तिमा ५०/६० हजारका दरले लगानी फसेको बुझिएको छ । आइतवार पनि विकको घरमा ८/१० जना व्यक्ति तोकता गर्न आएका थिए । ताकेताकै कारण विक परिवारले आत्महत्याको बाटो रोजेको संभावना छ ।

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  १२ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]