जेष्ठ ६, २०८२ सोमबार

बिर्तामोडको फोहोर व्यवस्थापनमा दलहरुको साझा प्रतिवद्धता

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र रहेका राजनीतिक दलहरुले यहाँको फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरुबीचको एकता भए मात्र यहाँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन हुने राजनीतिक दलका नेताहरुले बताएका छन् ।
आज बिहान बिर्तामोड नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा आवश्यक समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए । उनीहरुले बिर्तामोड नगरपालिका र स्थानीय राजनीतिक दलहरुको आवश्यक समन्वय र सहकार्यबाट मात्रै फोहोर व्यवस्थापन गर्न सकिने बताएका छन् ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि काठमाडौंको निराकार सरसफाई सेवा प्रालिलाई जिम्मा दिएको छ । सम्झौतामा डम्पिङ साइड नगरले व्यवस्थापन गरिनदिने भनेको थियो । नगर क्षेत्रमा उत्पादन हुने फोहोर डोमालाल रंगशाला पछाडि र नगरपालिकाको कार्यालय अगाडि खाल्डो बनाएर व्यवस्थापन गरिदैं आएको थियो । पछिल्लो समय ति ठाउँमा समेत फोहोर व्यवस्थापन गर्न समस्या भएपछि निजी कम्पनीले हप्ता दिन देखि फोहोर उठाउन छोडेको छ । निराकार सरसफाई सेवा प्रालिले फोहोर उठाउन छोेडेपछि बिर्तामोडको बजार क्षेत्रमा फोहोर थुप्रिन थालेको छ ।

नगर प्रमुख धु्रव कुमार शिवाकोटीले फोहोर व्यवस्थापनका लागि हदैसम्मका प्रयास गरेको बताएका छन् । उनले विभिन्न ठाउँमा जग्गा व्यवस्थापन गर्दा समेत विरोध भएपछि समस्या समाधानमा भएको बताउ । उनले डम्पिङ साइड बनाउन जग्गाका लागि जिल्लाका धेरै ठाउँमा जग्गा हेरे पनि फोहोर फाल्न साथ स्थानीयबाट विरोध हुने गरेको सुनाए । उनले दलका नेताहरुलाई डम्पिङ साइड व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बिर्तामोडको मुख्य चुनौति फोहोर भएको बताए । उनले यहाँको फोहोर व्यवस्थापन गरेर सुन्दर र स्वच्छ बिर्तामोड बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । डम्पिङ साइड अभावले फोहोर व्यवस्थापनमा कठिनाई भइहरेकोले राजनीतिक दलका प्रतिनिधिलाई दीर्घकालिन समाधानका लागि प्रयत्न गरिदिन अनुरोध गरेका छन् ।

सर्वदलीय बैठकमा नेकपा एमाले बिर्तामोडका अध्यक्ष उमानाथ ओलीले लामो समयदेखि प्रयत्न गर्दा समेत फोहोर व्यवस्थापन गर्न कठिनाई भएको बताएका छन् । उनले स्थानीय सरकार र दलहरु बिच थप समन्वयको जरुरी भएको बताएका छन् । उनले फोहोरमाथि फोहोरी राजनीति भएमा समस्या समाधान नहुने बताए । बिर्तामोडभित्र नदी र जंगल क्षेत्र नभएकाले पनि फोहोर व्यवस्थापनमा समस्या भएको बताए । उनले नगरपालिकालाई दीर्घकालिन योजना बनाउन आग्रह गर्दै दलहरुको सहयोग रहने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेसका उपसभापति लक्ष्मी आचार्यले फोहोर व्यवस्थापनमा नगरपालिकाले दलहरुसँग पर्याप्त समन्वय नगरेको आरोप लगाए । उनले बेलैमा समन्वय गर्दा समाधानमा ढिलाई भएको प्रतिक्रिया दिए । उनले नगरलाई सजिलो हुँदा दलहरु नखोज्ने र अप्ठ्यारो पर्दा मात्रै दल खोज्ने प्रवृत्ति रहेकोले नगरको हरेक विकास र समृद्धिको काममा दलहरुसँग सहकार्य गर्न अपरिहार्य रहेको बताए ।

माओवादी केन्द्रका इञ्चार्ज युवराज दाहालले जनप्रतिनिधिको मुख्य एजेण्डा फोहोर व्यवस्थापन भएपनि अहिलेसम्म यसको व्यवस्थापन हुन नसकेको बर्ता । निर्वाचनपछि जनप्रतिनिधिले यहाँको फोहोर व्यवस्थापनलाई मुख्य कामको रुपमा अघि सारेको उनको दावी छ । दाहालले राजनीतिक दल, जनप्रतिनिधि र आम नागरिकको सहकार्यबाट मात्रै फोहोर व्यवस्थापन हुने बताए ।

राप्रपा बिर्तामोडकी अध्यक्ष रञ्जु प्याकुरेलले बिर्तामोडको फोहोर व्यवस्थापन सबैको जिम्मेवारीको विषय भएको बताइन् । उनले ४ वर्षमा नगरको नेतृत्वले फोहोर व्यवस्थापन गर्न नसकेको र यहाँका दलहरुले पनि चासो नदिएको बताएकी छन् । फोहारे व्यवस्थापन नगरमा जितेका र पराजित भएका सबै दलहरुको दायित्व भएको उनको भनाई छ । उनले फोहोर व्यवस्थापन नहुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै तत्काल व्यवस्थापनमा सबै जुट्नुपर्ने आग्रह गरेकी छन् ।

प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]