हनुमानमा गठित समितिले थाल्यो अनुगमन, प्रहरी मुचुल्का उठाउँदै : पूर्ण रुपमा सरसफाई गरेर मात्र कम्प्लेक्स खुल्ला गर्ने
बिर्तामोड । हनुमान सेन्टरलमा आगलागी भएपछि त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति समाधान गर्न सरोकारवालाको नेतृत्वमा समिति गठन गरिएको छ ।

सरोकारवालाको छलफलपछि आगलागीको अनुगमन गर्ने, क्षतिको अध्ययन गर्ने र कम्प्लेक्समा भएको क्षतिको विवरण संकलन गर्ने गरी समिति गठन भएको छ । समितिमा हनुमान सेन्टरका सञ्चालक रमेश सरिया, उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला,सजेश शिवाकोटी, हनुमान सेन्टरका व्यवसायी समितिका प्रतिनिधि, आगलागी भएको इरिक पसलका सञ्चालक दिनेश पाठक, इप्रका अनारमनीका प्रतिनिधि, नेकपा र कांग्रेस विर्तामोडका प्रमुख रहेका छन् ।
समिति निर्माण पछि उनीहरुले आगलागी स्थलको अनुगमन गरेका छन् । आगलागी भएको इरिकको सोरुमसँगै क्षति भएको अन्य पसलको समेत अनुगमन गरिएको छ । सो समितिको उपस्थितिमा इलाका प्रहरी कार्यालय अनारमनीले घटनास्थलको मुचुल्का उठाउने काम पनि गरिरहेको छ ।

आगलागीबाट पाठकले ६० लाख लगानीमा सञ्चालन गरेको इरिकको सोरुम पूर्ण रुपमा क्षति भएको छ । नजिकै रहेका दुई पसल र आगलागी भएको ठाउँबाट माथिल्लो तलामा समेत क्षति पुगेको बताइएको छ । इरिकको छेउमा रहेको अर्को जुत्ता र सामसुङको पसलले विमा गरे पनि इरिकको विमा नरहेको बुझिएको छ ।

समितिले भोली सोमबार विहान ९ बजे अर्को बैठक बसेर प्रक्रियाअघि बढाउने बिर्तामोड उधोग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।
अहिले हनुमान कम्प्लेक्स बन्द रहेको छ । प्रायः सबै पसलमा धुँवा गन्हाएकाले केहि व्यवसायी सरसफाईमा जुटिरहेका छन् । विधुतको समस्याले व्यवसायी पसल खोल्ने तयारीमा नरहेको पाइएको छ । समितिका अनुसार आज सुरक्षाकर्मीले मुचुल्का उठाइसकेपछि सरसफाई थालिनेछ । आगलागीबाट भएको अस्तव्यस्त समाधान गरेर मात्र बजार खोल्ने बताइएको छ ।