बैशाख १२, २०८१ बुधबार

ब्याङक्वेटको महाविजोग

बिर्तामोड । झापा बिर्तामोडका ब्याङ्क्वेट (पार्टी प्यालेस) व्यवसायीले स्वास्थ्य मापदण्ड पुरा गरेर व्यवसाय सुचारु गर्ने तयारी गरेका छन् । सबै क्षेत्र सञ्चालनमा आइसकेकोले ब्याङ्क्वेटलाई स्वास्थ्य मापदण्ड पुरा गरेर चलाउन दिनुपर्ने व्यवसायीको माग छ ।

पहिलो चरणको कोभिडबाटै बन्द रहेको ब्याङ्क्वेट अहिलेसम्म सञ्चालन गर्न नपाए पछि व्यवसायी अप्ठ्यारोमा परेका छन् । सिपी होटलका सञ्चालक रितेन खरेलले अब स्वास्थ्य मापदण्ड पालना गरेर ब्याङक्वेट सञ्चालन गर्न पाउनुपर्ने बताएका छन् । उनले सबै क्षेत्र खुल्ला भइसकेको कारण ब्याङक्वेट मात्र बन्द गरिरहन जरुरी नभएको बताए । उनले ब्याङक्वेट बन्द भएका कारण आर्थिक रुपमा ठुलो क्षति भइरहेको जानकारी दिए । होटल व्यवसायमध्येको ब्याङक्वेट नै बन्द भएपछि खर्च धान्नै समस्या भएको खरेलको भनाई छ । उनले अब स्थानीय प्रशासनसँग अनुरोध गरेरै भएपनि ब्याङक्वेट चलाउने योजना रहेको सुनाए । पार्टी प्यालेस सिजनमा मात्रै सञ्चालन हुने हो , खरेलले भने – २ वर्षमा धेरै सिजन गुमाइसकेका छौं ।

सोही पार्टी प्यालेसका व्यवस्थापक कविराज गुरागाँईले ब्याङक्वेट बन्द हुँदा होटल व्यवसाय नै प्रभावित भएको बताए । उनले छिटोभन्दाछिटो सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेका छन् । उनले तीजका कार्यक्रमहरु गर्न मिल्ने गरि व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बिर्तामोडको पश्चिम बस स्टेण्ड नजिकै रहेको सिपी पार्टी प्यालेस बैशाखमा २ दिन चलेको थियो ।
यस्तै, भगवान चोक पश्चिममा रहेको जय वशिष्ट रिसोर्ट प्रालिको हालत पनि उस्तै छ । कोरोनाले बन्द भएपछि ब्याङक्वेटका कर्मचारीलाई नै विदा दिइएको छ । सो पार्टी प्यालेसका प्रमुख व्यवस्थापक उन्नतदिप्त राईले व्यवसाय सञ्चालन गर्न नपाउँदा अत्यन्तै समस्या भएको बताए । उनले विवाह, पार्टी र संघसंस्थाका कार्यक्रम हुँदै आएको हल यतिवेला सुनसान भएको जानकारी दिए । म बेलाबेला आउँछु, बसेर के गर्नु ? , राईले भने – अब चै सञ्चालन गर्न दिनुको विकल्प छैन । उनले कोरोनाले पार्टी प्यालेसको विजोग मात्र नभई महाविजोग भएको बताए ।

०७७ को मंसीरपछि बन्द गरिएको ब्याङक्वेट अहिलेसम्म सञ्चालनमा ल्याउन नसक्दा व्यवसाय नै चौपट भएकोउनको भनाई छ । पार्टी प्यालेस बन्द भएपनि विभिन्न खर्चहरु हुने भन्दै प्रशासन समक्ष सञ्चालनको व्यवस्था मिलाईदिन माग गरेका छन् ।
आदर्श ब्याङ्क्वेट बिर्तामोडका सञ्चालक नविन खरेलले जिल्लाभरका पार्टी प्यालेसहरु अहिले बन्द रहेको जानकारी दिए । उनका अनुसार विवाह, ठुला कार्यक्रम, पार्टी लगायतका कार्यक्रम गर्न सकिएको छैन । ०७७ मा तीन महिना, ०७८ को बैशाखमा १ महिना पार्टी प्यालेस सञ्चालन गरिएको उनको भनाई छ । पार्टी प्यालेस सञ्चालन गर्न नसक्दा बैंकको व्याज तिर्न निकै समस्या भएको बताए । खरेलले आगामी असोजदेखि पार्टी प्यालेस सञ्चालन गर्न पाइने अपेक्षा गरेका छन् ।

झापाको बिर्तामोडमा साई प्यालेस, सिटी प्यालेस, सिपी पार्टी प्यालेश,वशिष्ट पार्टी प्यालेस, इन्द्रेणी ब्याङ्क्वेट, दुर्गा पार्टी, प्यालेस,आदर्श व्याङ्क्वेट, टाइमस्क्वायर र हिमाल सागर सञ्चालनमा रहेको छ । दमकमा ९ वटा पार्टी प्यालेस सञ्चालनमा छन् भने अन्य शहरमा समेत सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]