बैशाख १४, २०८१ शुक्रबार

विवाहपछि काजक्रियासम्म भेद्भाव

बिर्तामोड । अन्तरजातीय विवाह पश्चाप माइतबाट अस्वीकृत सिता ढुङ्गाना (विक)ले बुबाको काजक्रियामा समेत विभेद भोग्नु परेको छ । उनले बुबाको काजक्रियासँगै बसेर गर्न पाइनन् । झापा बिर्तामोड निवासी ढुङ्गाना बुवा धर्मानन्द ढुङ्गाना (९३) को काजक्रियामा बसेको आज १०औं दिन भएको छ । उनी सपरिवार काजक्रियामा छैनन् । आफ्नै घर बिर्तामोडमा काजक्रिया गरिरहेकी छन् ।

विश्वकर्मा जातिसँग विवाह गरेदेखि सिताले माइत फर्कन पाएकी छैनन् । बुबासहित दाजुभाईको व्यवहारका कारण उनले २१ वर्षदेखि माइतमा खुट्टा हालेकी छैनन् । उनले मात्र होइन, श्रीमान छविलाल र छोराले मावली देखेका छैनन् । १० दिनअघि बुबा धर्मानन्दको दमकमा निधन भयो । माइला छोराको घरमा बस्दै आएका बुबाको निधन भएको खवर पनि उनलाई कसैले सुनाएन । उनले सामाजिक सञ्जाल फेसबुकबाट बुबा वितेको थाहा पाएपछि अहिले घर मै काजक्रिया गरिरहेकी छन् ।

राजनीतिक आन्दोलन कै क्रममा भेटिएका छविलाल विश्वकर्मासँगको प्रेम सम्बन्धका कारण उनीहरु बिच भागी विवाह भयो । पाँचथर रानीगाउँका उनीहरु विवाहपछिको तनाव सहन नसकेर झापा आए । झापा आएपछि पनि श्रीमान–श्रीमति नै राजनीतिमा सक्रिय छन् । सिता अखिल नेपाल महिला संघ झापाको जिल्ला सहसचिव हुन् भने छविलाल एमाले झापाका प्रभावशाली नेता हुन् । उनी बिर्तामोड एमालेका हर्ताकर्ता नै हुन् । राजनीतिमा सक्रिय भए पनि दुई दशकदेखिको जातीय विभेद्बाट उनीहरुको परिवारले मुक्ति पाएको छैन ।
राजनीतिक परिवार भएका कारण उनीहरुको घरमा समवेदना दिन आउनेको बाक्लै भिड लाग्ने गरेको छ । हरेक दिन आउनेहरुले काजक्रियामा समेत विभेद् हुनु असामान्य अपराध भएको बताउँछन् । सिताको दाजुभाई र दिदीबिहीनीले दमक मै काजक्रिया गरिरहेका छन् । उनी एक्लै बुबाको काजक्रिया विर्तामोडमा गरिरहेकी छन् ।

छोरी कामीसँग गई भनेर बुबाले जिउँदै काजक्रिया गरिसक्नु भएको थियो । ९ दिन कोरा बसेर कपाल काटेर सिताको काजक्रिया गरिसकेका बुबाले छोरीलाई त्यागेको सन्देश दिएका थिए । सिताले भनिन्– विवाहअघि नै आमा वित्नु भएकाले पनि मैले माइतबाट माया पाउन सकिन । यदि आमा जिवित हुनुहुन्थ्यो भने यत्तिका हद हुने थिएन, उनले थपिन् । छविलालले विवाहको २१ वर्षसम्म पनि विभेद भोग्नु परेको भन्दै अझै परिवर्तनको आन्दोलन जरुरी भएको बताए । उनले भने, विवाह गर्दै समस्या बारे थाहा थियो । तर, विस्तारै परिवर्तन हुन्छ भन्ने विश्वास गरेका थियौं । अझै पनि बुबाको काजक्रिया परिवार मै बसेर गर्न नपाउँदा दुःख लागेको छ ।

समवेदना लिएर आउने कमल गाउँपालिका अध्यक्ष एवम् अनेमसंघ प्रदेश १ अध्यक्ष मेनका काफ्लेले अहिले पनि विभेद् हुनु दुःखद् भएको बताइन् । उनले जातीय विभेद्को अनेमसंघ घोर भत्सर्ना गरिन् । जातीय मुक्तिको आन्दोलनमा वर्षौदेखि क्रियाशिल भएको भन्दै काफ्लेले आगामी दिनमा पनि विभेद् विरुछ महिलाहरु क्रियाशिल हुने बताइन् । सबै खाले विभेद्बाट मुक्ति नपाएसम्म त्यसका विरुद्ध लडिरहने प्रतिज्ञा गर्छु, काफ्लेले भनिन् । दुःखको बेला समेत एकै ठाउँमा बसेर काजक्रिया गर्न नपाउनु विडम्बडा भएको उनको भनाई छ ।

प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]