मेचीमा अब डाइलासिस गर्न आउने विरामीले फर्किनु पर्दैन : अध्यक्ष पोर्तेल
बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरले अब डाइलासिसका लागि कुनै समस्या नहुने जनाएको छ । यसअघि ३ वटा मात्र डाइलासिस हुँदा विरामीहरु फर्किएर जाने गर्थे ।
अस्पतालका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले अस्पतालमा ७ वटा डाइलासिस मेसिन थप गरिएको जानकारी दिए । उनले अब दैनिक १० वटा मेसिनबाट निशुल्क डाइलासिस हुने बताएका छन् । अझै आवश्यकताका आधारमा मेसिन थप गर्दै जाने अध्यक्ष पोर्तेलको भनाई छ ।

३ वटा डाइलासिस हुँदा दैनिक २७ जनाले सेवा लिदैं आएका थिए । अब हरेक दिन ९० जनाले डाइलासिस सेवा पाउने छन् । थोरै मेसिन हुँदा केहि व्यक्तिले मात्रै सुविधा लिन पाइरहेका थिए, पोर्तेलले भने– अब डाइलासिस गर्न आउने कोहि पनि विरामी फर्किनु पर्दैन । यसअघि मेसिन कम हुँदा नाम टिपाएर लाइन बस्नुपर्ने बाध्यता थियो । नाम आउँदासम्म विरामी मरिसक्ने अवस्था हुन्थ्यो, पोर्तेलले भने – अब डाइलासिस अभावले कोहि पनि मर्नु पर्दैन ।
हप्तामा २ पटक गर्नुपर्ने डाइलासिस सेवालाई थप सुविधायुक्त र सरल बनाइने अध्यक्ष पोर्तेलको भनाई छ । उनका अनुसार निकट भविष्यमा डाइलासिस गर्ने विरामीहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने छ ।