बैशाख १४, २०८१ शुक्रबार

भद्रपुरको प्रगति ७० प्रतिशतभन्दा माथि

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग संघको सभाहलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा नगरपालिकालगायत सबै वडा र विषयगत शाखाहरुका तर्फबाट ०७७/०७८ मा भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
निमित्त प्रशासकीय अधिकृत शान्तिराम भट्टराईले स्वागत र प्रशासन प्रमुख नेत्रप्रसाद पोखरेलले सञ्चालन गरेको गोष्ठीमा दशैवटा वडाध्यक्षहरुले वडाको प्रगति प्रस्तुत गरेका थिए भने विषयगत शाखाहरुका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विवरणहरु अनुसार आ. व. ०७७÷०७८ मा समग्रमा ७० प्रतिशतभन्दा माथि प्रगति भएको देखिएको छ । पूर्वाधार विकासतर्फ भने झण्डै ९० प्रतिशत प्रगति हासिल भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

गोष्ठीमा चालु आर्थिक वर्षको बजेट र योजनाहरुका बारे पनि चर्चा गरिएको थियो भने यस वर्ष शतप्रतिशत प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । उपप्रमुख चन्द्रा श्रेष्ठले वर्षको शुरुमा काममा तीव्रता दिइएको भए पनि कोरोना भाइरसको दोस्रो लहर आएपछि सोचे अनुसार काम हुन नसक्दा प्रगति प्रभावित भएको स्पष्ट पारिन् । नगरप्रमुख श्रेष्ठले जनप्रतिनिधिको रुपमा निर्वाचित भएर नगरपालिकाको जिम्मेवारी सम्हालेको चारवर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका बारे पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]