बैशाख ७, २०८१ शुक्रबार

झापामा जनगणनालाई सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताउनुभयो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उहाँले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरिवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण र बैकिङ पहुँचको विवरण सङ्कलन गर्नेे बताउनुभयो । विवरण सङ्कलन गर्ने काम १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ । भदौ २६ र २७ गते विर्तामोड, मेचीनगर नगरपालिका, बाह्दशी गाउँपालिका र भदौ २८ र २९ गते अर्जुनधारा, भद्रपुर, नगरपालिका, कचनकवल, हल्दिबारी, बुद्धशान्ति गाउँपालिकामा सुपरिवेक्षकलाई गणनासम्बन्धी तालिम प्रदान गरिएको थियो । दोस्रो चरणका लागि कात्तिक ९गतेदेखि ११ गतेसम्ममा कार्यालयमा गणक नियुक्त गरिने र कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालिम दिएर गणना कार्यका लागि उनीहरुलाई कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म कार्यस्थलमा खटाइने बताउनुभयो । जिल्लामा माइपश्चिमका सातवटा पालिका, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ । विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क सङ्कलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । कार्यालयले यसअघि नै प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा वडा जनगणना सहजीकरण समिति गठन गरेको थियो ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  १ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]