बैशाख १४, २०८१ शुक्रबार

दुई वर्षदेखि ‘बर्थिङ सेन्टर’ बन्द

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्यचौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत दुई वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी गाउँमा नबस्ने तथा सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बन्द भएको हो । उक्त स्वास्थ्यचौकीमा चार वर्षअघि सेन्टर स्थापना गरिइएको थियो । अहिले प्रसूति हुने सबैलाई सदरमुकाम फिदिम पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

“गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ”, स्थानीयवासी तिलक तुम्रोक भन्नुभयो, “यसले कमजोर आर्थिक अवस्थाका स्थानीयवासीलाई समस्या पारेको छ ।” बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन आफूहरुले निरन्तर आवाज गर्दै आएको भए पनि सेवा सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ । यस्तै स्थानीयवासीले यहाँको बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको जनाउँदै विरोध जनाएका छन् । उनीहरुले जिल्लाका अन्य स्थानीय तहहरुले गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना गरिरहँदा सदरमुकामसमेत रहेको फिदिम नगरपालिका भने दुई वर्षदेखि सेन्टर बन्द हुँदा चुपचाप बसेको गुनासो गरे । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोक भने स्वास्थ्यचौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रबन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन भएको बताउनुहुन्छ । “स्वास्थ्यचौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रूपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।” बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मीसमेत आवासको समस्या देखेर दुई साता नबित्दै काज सरुवा गरी गएको उहाँले बताउनुभयो ।

फिदिम–६ का वडाध्यक्ष जरमान तुम्रोकका अनुसार ‘वान हर्ट’ नामक संस्थाको सहयोगमा चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिएको थियो । जनशक्ति अभाव हुँदा बर्थिङ सेन्टरबाट ‘भनेजस्तो’ सेवा प्रवाह हुन नसकेको तुम्रोकको भनाइ छ । “दरबन्दीअनुसारका जनशक्ति पठाइदिन फिदिम नगरपालिकालाई भन्दै आएको छु”, उहाँले भन्नुभयो, “अस्ति विज्ञापन पनि भइसकेको छ । नगरपालिकाले परीक्षा गराएर पठाउने भनेको छ । त्यसपछि समस्या समाधान होला कि ।” सिवा स्वास्थ्यचौकीका प्रमुख हेल्थ असिस्टेण्ट ओमप्रकाश यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्यकर्मी २४सै घण्टा काममा खटिनुपर्छ । स्वास्थ्यचौकी वा नजिकै आवासको व्यवस्था नहुँदा रातको समयमा स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् । “यहाँ स्वास्थ्यकर्मी खटाएपछि आवासको पनि व्यवस्था भएमात्रै सहजरूपमा सेवा प्रवाह गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यचौकीलाई नै भवन कम भइरहेको छ । नयाँ भवन बने सहज हुन्थ्यो भन्ने हाम्रो कुरा हो ।” उक्त स्वास्थ्यचौकीमा एसडिए तालिमप्राप्त एक अनमी र एक अहेब पद रिक्त छ । एसडिए तालिमप्राप्त एक अनमी यहाँ कार्यरत रहे पनि प्रसूति सेवा पुनः सञ्चालनमा ल्याएपछि उनी एक्लैले सेवालाई निरन्तरता दिन नसक्ने प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार फिदिम नगरपालिका–६ सिवामा मासिक सरदर १३–१४ जना सुत्केरी हुने गर्दछन् । उनीहरु सबै फिदिम पुगेर प्रसूति सेवा लिन बाध्य छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]