बिर्तामोडमा भेटियो म्याद गुज्रेका खाद्यन्न
बिर्तामोड । चाडवाड शुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन थालेको छ । प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नापतौल,घरेलु र स्थानीय तहले संयुक्त रुपमा बजार अनुगमन थालेका हुन् । अनुगमन टोलीले बिहीवार बिर्तामोड क्षेत्रमा केहि पसलको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रामहरि खतिवडाका अनुसार बिर्ताबजारको शिखर बजार, शनिश्चरे रोडको गृहिणी , ओली स्टोर, राम जानकी टे«डर्समा अनुगमन गरेको छ । खाद्य वस्तुको म्याद, गुणस्तर , मुल्य र नापलाई अनुगमनमा हेरिने खतिवडाले जानकारी दिए । उनले बिर्ताबजारको शिखर बजारमा म्याद गुज्रिएको सामग्री फेला परेको जानकारी दिए । सो सामग्री जफत गरि बिर्तामोड नगरपालिकालाई जिम्मा लगाइएको बताए ।
यस्तै, अनुगमन टोलीले शनिश्चरे रोडको ओली स्टोरमा १ बोरा सामग्री म्याद गुज्रिएको सामग्री फेला पारेको छ । बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने मुखमै रहेको राम जानकी टे«डर्सको नाप गर्ने सामग्री जफत गरिएको छ । सो सामग्री नापतौलको कार्यालय भद्रपुर पठाइएको खतिवडाले जानकारी दिएका छन् ।
अनुगमनमा धेरै जसो विष्कुट, चाउचाउ, चिजवल, सुजी , पिठो, पापड, दाल लगायतका सामग्रीको म्याद गुज्रिएको फेला पारेको छ । जफत गरिएका सामग्री प्रहरी मार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ । मापदण्ड अनुसार व्यवसाय नगर्नेहरुलाई मौखिक रुपमा सचेत गराइएको बताइएको छ । प्रशासन कार्यालयले जिल्लाभर अनुगमन गरिरहेको छ । इलाका प्रहरी कार्यालयको सहयोगमा टोलीले अनुगमन गरेको हो ।
