बैशाख ७, २०८१ शुक्रबार

झापामा ०६८ को जनगणना : समुदायको आधारमा यस्तो थियो संख्या

बिर्तामाड । हरेक दश वर्षमा गरिने जनगणनाको तयारी भएको छ । जिल्ला–जिल्लामा जनगणनाको लागि पालिकाहरुमा सुपरिवेक्षक परिचालन गरिएको छ । झापाका १५ वटै पालिकामा भदौ ३० गतेबाट सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालय भद्रपुरले जनाएको छ ।

पहिलो चरणको जनगणना बुधबारदेखि सुरु भएको हो । पहिलो चरणको जनगणनामा तथ्याङ्क संकलन र घरमा मार्किङ गर्ने कार्य हुने छ ।
झापाका १३१ वटा वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुईटेलले जानकारी दिए ।
यसअघि २०६८ मा जनगणना भएको थियो । १० वर्षअघि भएको जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० थियो । तथ्याङक अनुसार ३ लाख ८५ हजार ९६ पुरुष र महिलाको संख्या ४ लाख २६ हजार ८ सय ५४ रहेको थियो । सामुदायिक आधारमा बाम्हण १ लाख ९३ हजार २ सय ८७, क्षेत्री १ लाख २८ हजार ३०, राजवंशी ७३ हजार ३ सय ८३, लिम्बु ५३ हजार ७ सय २१, राई ३७ हजार ९ सय ७२ र अन्य ३ लाख २६ हजार २ सय ५८ रहेको छ ।

यो वर्ष ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन भइरहेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत सुपरिवेक्षकले घर–घरमा पुगेर परिवारको संख्याको विवरण, कृषि तथा पशुपंक्षी सम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण संकलन गर्नेे बताएका छन् । विवरण संकलन गर्ने कार्य १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ । भदौ २६ र २७ गते विर्तामोड, मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र भदौ २८ र २९ गते अर्जुनधारा, भद्रपुर, नगरपालिका, कचनकवल, हल्दिबारी, बुद्धशान्ति गाउँपालिकामा सुपरिवेक्षकलाई गणना सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

दोस्रो चरणका लागि कात्तिक ९ देखि ११ गतेसम्ममा कार्यालयमा गणक नियुक्ति गरिने र कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएर गणना कार्यका लागि उनीहरुलाई कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म फिल्डमा खटाइने छ । कनकाईसहित जिल्लामा माइपश्चिमका सातवटा पालिका शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ भने विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क संकलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उनले बताए ।

प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]