विवादमा रेग्मी : कार्यपालिकालाई ओझेलमा पार्दै अनुदानको २१ लाख बितरणको प्रयास
बिर्तामोड । पटक–पटक विवादमा आइरहने झापा अर्जुनधारा नगरपालिकाका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले पुनः विवादित काम गरेका छन् ।
अर्जुनधारामै रहेको लक्ष्मी माध्यमिक विधालयका विवादित प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको प्रमुख संरक्षकको आरोप खेप्दै आएका रेग्मीले अनियमितता गर्ने मनसायबाट शिक्षक नियुक्तिको लागि नगर शिक्षा शाखाबाट निर्णय गरेको कागजात फेला परेको छ ।
शिक्षा मन्त्रालयले देशभर आर्थिक वर्ष ०७६/७७ का लागि शिक्षण सिकाई सहयोग अनुदान दिएको छ । सोहि अनुदान रकम वापत अर्जुनधारा नगरपालिकाले २१ लाख ९६ हजार प्राप्त गरेको छ ।
माध्यमिक तहका गणित, अंग्रेजी, विज्ञान शिक्षक नियुक्तिका लागि ६ जना शिक्षकको प्रति शिक्षक ३० हजार ५ सय प्रति महिनाका दरले १२ महिनाको तलब रकम २१ लाख ९६ हजार शिक्षा विभागबाट उपलब्ध भइसकेको बताइएको छ ।
शिक्षा शाखा प्रमुख रेग्मीले नगर प्रमुख हरि कुमार राना र प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल लण्डन गएको समयमा निमित्त नगर प्रमुख कमला खतिवडालाई समेत जानकारी नदिई आफु खुशी अनियमितता गर्ने हिसावले विधालय छनोट गरेको स्थानीय शिक्षा सरोकारवालाले आरोप लगाएका छन् । रेग्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लागेको छ ।
विभिन्न ठाउँमा रहेर काम गरेका विवादित रेग्मीले नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, नगरको कार्यपालिका, नगर शिक्षा समिति, स्थानीय शिक्षा सरोकारवालासँग छलफल गरेर आवश्यकता र निर्देशिका बमोजिम अनुदान वितरण गर्नुपर्नेमा मनपरी गरेको शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले जानकारी दिए । उनका अनुसार शिक्षा शाखाका प्रमुख रेग्मीले हदैसम्मको लापरबाही र मनपरी गरेका हुन् ।
१२ महिनाको तलव व्यवस्था हुने गरी नियुक्ति गरेपनि अर्जुनधारा माविमा ११ महिनाको मात्र तलब पाउने गरी २ जना शिक्षक नियुक्तिको अनुमति दिएको बुझिएको छ । नगरभित्र रहेका महारानीगञ्ज मावि, गणेश आधारभूत, अरुणोदय आधारभूत, नवदुर्गा आधारभूत, भानु आधारभूतमा १/१ जना शिक्षकको व्यवस्था गर्न अनुदान दिने गरी रेग्मीले पत्रचार गरिसकेको बताइएको छ । यसमध्ये भानु आधारभूतमा ११ महिनाको मात्रै तलव दिने रेग्मीको पत्रमा उल्लेख छ ।
नगरपालिकालाई कुनै जानकारी नगराई गरेको सो निर्णय तत्काल रोक्न उपप्रमुख खतिवाडले शिक्षा शाखालाई पत्रचार गरेकी छन् । पत्रचार पछि सबै प्रक्रिया तत्कालका लागि रोकिएको छ । विधालयलाई पठाइने अनुदान रकम खातामा जम्मा गर्न प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने भएपछि उपप्रमुखको पत्रले सो काम पनि रोकिएको छ ।
सबैलाई गुमराहमा राखेर अनियमितताको प्रयास गरेका रेग्मीलाई स्थानीय युवाले अर्जुनधाराबाट विदा गर्न अल्टिमेटम दिएका छन् । स्थानीय युवाले बुधबार कार्यकक्ष मै गएर रेग्मीलाई नगर छोड्न आग्रह गरेको स्थानीय अगुवा राम घिमिरेले जानकारी दिए ।
सूचना स्रोतका अनुसार शिक्षा शाखा प्रमुख रेग्मीले आफुखशी नगरभित्रको दरवन्दी मिलान गरिरहेका छन् । शिक्षा समिति र कार्यपालिकाको निर्णयमा गर्नुपर्ने काम समेत उनी आफै गरिरहेको पाइएको छ ।