स्वास्थ्य संस्थामा प्रसूति गर्नेलाई गौरीगञ्जमा अनुदान

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले सुरक्षित प्रसुति गर्ने क्रमलाई प्रोत्साहन गर्न नगद अनुदानको कार्यक्रम ल्याएको छ ।
आर्थिक वर्ष २०७६/०७७ नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति हुनेहरुका लागि नगद प्रोत्साहन कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । घरैमा सुत्केरी हुदाँ आमा तथा शिशुको स्वास्थ्य जेखिममा पर्ने भएकोले सो जोखिम न्यूनिकरणका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए ।
अब गाउँपालिका भित्रका महिलाले कुनै पनि स्वस्थ्य संस्थामा सुत्केरी भएमा साविकको सुविधामा थप एक हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । शिशु तथा सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत सुरक्षित प्रसूतिका लागि नगद प्रोत्साहनको कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
यस्तो प्रोत्साहन रकम पाउन कुनै पनि स्वास्थ्य संस्थामा प्रसूति भएको हुनु पर्ने छ भने ३५ दिन भित्रमा जन्मदर्ता गराएको हुनु पर्नेछ ।