जेष्ठ ७, २०८१ सोमबार

प्रहरी पक्राउ गर्न विप्लवद्वारा ‘पक्राउ पूर्जी’ जारी

कैलाली । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता धरपकडलाई तीब्र बनाइरहेका बेला कैलालीमा भने विप्लव समूहले उल्टै प्रहरीलाई पक्रिन ‘पक्राउ पूर्जी’ जारी गरेको छ ।


विप्लव समूहका नेता–कार्यकर्ता धमाधम पक्रेर मुद्दा चलाइरहेका बेला प्रतिबन्धित विप्लव समूहले जनअदालतको नाममा राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पूर्जी’ जारी गर्दै जनअदालतमा हाजिर हुन उर्दी जारी गरेको छ ।


कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी गरिएको पूर्जीमा राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ उर्दी गरिएको छ ।
विप्लव समूहद्वारा जारी पूर्जीमा लेखिएको छ, ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पूर्जी जारी गरिएको हो ।’ विप्लवद्वारा जारी पूर्जी विभिन्न सार्वजनिक स्थलहरुमा टाँसिएको जनाइएको छ ।


विप्लव समूहले असई कुँवरमाथि आफ्ना नेता–कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ । ‘बाटोका म्याद बाहेक २५ दिनभित्र आफैं वा पक्राउ पूर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पूर्जीमा लेखिएको छ ।
असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता ‘तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकूलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पूर्जी जारी गरिएको विप्लव समूहको दावी छ । आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुन अनुसार कार्वाही गर्ने जनाइएको छ ।


तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कार्बाही गर्ने चेतावनी विप्लव समूहको छ । ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा उल्लेख छ ।

कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले पक्राउ पुर्जी जारी गरेको भनिएका व्यक्ति प्रहरीको अनुसन्धान विभागमा कार्यरत भए नभएको निक्र्यौल गर्नुपर्ने बताएका छन् । ‘सेना र प्रहरीमाथि आक्रमण नगर्ने भन्ने विप्लव समूहको केन्द्रीय नीति रहेको सुनेका छौँ’, यस्ता गतिविधि हुन्छन् भने यो विरोधाभाषपूर्ण हुन्छ ।’ उनले सुरक्षाकर्मी मात्र होइन नागरिकको सुरक्षामा प्रहरी प्रतिबद्ध रहेको दावी गरे ।

प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]