बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडको पताल गंगा सहकारीका अध्यक्ष सम्पर्कविहीन, करोडभन्दा धेरै हिनामिना गरेको आरोप

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल भदौ तेस्रो हप्तादेखी सम्पर्क बिहीन भएका छन् । खनाल परिवार र संस्थासँग सम्पर्कमा नरहेको बुझिएको छ । उनकी श्रीमति कमला खनालले तीजको भोलीपल्टदेखि उपचार लागि भन्दै काठमाडौं गएको बताइन् । उहाँको पेटमा समस्या थियो, श्रीमति कमलाले भनिन्, हिडेको २÷४ दिनपछि अहिलेसम्म सम्पर्कमा हुनुहुन्न ।

उनलाई सहकारीको करिव एक करोड रुपैयाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ ।

सहकारीका सचिव मोहन विक्रम मल्लले संस्थाका अध्यक्ष रेवती खनाल अहिले सम्पर्कमा नरहेको जानकारी दिए । उनले परिवारसँग सम्पर्कमा रहेको दावी गरेका छन् । यता, खनाल पत्नी कमलाले परिवारसँग सम्पर्कमा नरहेको स्वीकार गरेकी छन् । उनले संस्थाको जिम्मेवार व्यक्ति सम्पर्क विहीन भएकाले संस्थाकै तर्फबाट खोजी हुनुपर्ने बताइन् । सचिव मल्लले अध्यक्ष खनालले केहि रकम हिनामिना गरेको हुन सक्ने संकेत गरेका छन् । तर, उनले स्पष्ट रुपमा कति हिनामिना गरेको भन्ने बारे बताउन चाहेनन् । खनालको परिवारलाई सञ्चालकहरु घर मै पुगेर १ करोडभन्दा बढी चलाएको जानकारी गराइसकेका छन् । सञ्चालक समितिका सरहरु आएर एक पटक ९० लाख चलाएको भन्नुभएको छ, खनाल पत्नी कमलाले भनिन् – यो लेखापरीक्षण नगरिको हिसाव हो, लेखापरीक्षण गरेर स्पष्ट हिसाव दिने कुरा छ । १ करोड ३० लाखसम्म हुनसक्ने भन्ने कुरा आइसकेको छ ।

सचिव मल्लले अध्यक्ष खनालले १५÷१५ लाखको ४ वटा कर्जा श्रीमति , भाई र आफ्नै आफन्तको नाममा बनाएको पाइएको जानकारी दिए । अहिदे ६० लाख स्पष्ट देखिन्छ, बाँकी खोजी हुँदैछ । परिवारको सम्पर्कमा हुनुहुन्छ भनेर कसरी दावी गर्नुहुनछ भन्दा मल्लले थपे, सम्पर्क नभए परिवारले अहिलेसम्म किन प्रहरीमा उजुरी दिएन त ?

अध्यक्ष खनाल सहकारीका व्यवस्थापक समेत हुन् । आफै अध्यक्ष , आफै व्यवस्थापक भएर मनोमानी गरेको थाहा पाएपछि सञ्चालकहरुले हिसाव खोजी गरेका थिए । हिसाव खोज्न थालेपछि उनी सम्पर्क बिहीन भएको मल्लको भनाई छ । संस्थाको खाताबाट रकम निकासा गर्न तीन जनाको हस्ताक्षर चलाइएको थियो । अध्यक्ष, उपाध्यक्ष र लेखापालको हस्ताक्षरबाट रकम निकासा गर्दै आएको संस्थामा उपाध्यक्ष नभएको खण्डमा लेखापालबाट रकम निकाल्न मिल्ने व्यवस्था मिलाइएको पाइयो । अध्यक्ष खनालले लेखापाललाई हस्ताक्षर गराउँदै रकम निकासा गरेको देखिन्छ, मल्लले भने – लेखापाललाई समेत अध्यक्षले झुक्याए छन् । किर्ते हस्ताक्षर गरेर अध्यक्ष खनालले रकम निकासा गरेको सञ्चालकहरुले परिवारलाई समेत जानकारी गराइसकेका छन् । खनाल पत्नी कमला भन्छिन्, अब मान्छे हराइरहेकोले के–के कुरालाई सत्य मान्नु र ? उनले भनिन्, त्यत्रो संस्थामा मेरो श्रीमानले ठुलो रकम तलमाथि गर्न कसरी संभव भयो ?

ऋण समिति संयोजक इन्दिरा श्रेष्ठले संस्था अध्यक्षको मात्र नभएको बताउछिन् । उनले रकम फिर्ता लिन आउनेलाई अहिलेसम्म नरोकेको इजलासलाई बताइन् । उनले भनिन्, अध्यक्ष फिर्ता भएर आउनुहुन्छ भन्ने आशा छ । त्यसैले पनि अहिलेसम्म कुरिरहेका छौं ।
खनाल जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक समेत हुन् । उनी सम्पर्क विहीन भएपछि संस्थाका सञ्चालक समितिका सदस्यहरुले झापा जिल्ला सहकारी संघ र बचत संघमा घटना बारे जानकारी समेत गराइसकेका छन् ।

शुक्रवार विहान पताल गंगा सहकारीको कार्यालय पुग्दा दुई जना कर्मचारी काम गरिरहेका थिए । उनीहरुलाई अध्यक्ष कहाँ हुनुहुन्छ भन्ना साथ आत्तिए । उनीहरुले मसिनो स्वरमा भने अध्यक्ष ‘यतै हुनुहुन्छ’ । कहाँ हुनुहुन्छ भन्नासाथ जवाफ दिन सकेनन् । पछिल्लो साधारणसभाको वार्षिक प्रतिवेदन माग्दा समेत नविन नाम गरेका कर्मचारीले दिन मानेनन् । उनले सरहरुको अनुमति पाए मात्रै दिने बताएरपछि मोवाइलमा कुराकानी गराएर प्रतिवेदन लिइएको छ । संस्थाको पछिल्लो वित्तीय रिपोट माग गर्दा उपलब्ध गराइएको छैन । सो प्रतिवेदन साधारणसभामा सार्वजनिक भइसकेको थियो । संस्थाको १२ औं साधारणसभा ०७७ पौष २१ गते भएको थियो ।

प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]