जेष्ठ २, २०८१ बुधबार

पताल गंगाका अध्यक्ष खनालले १ करोड ५४ लाख ८२ हजार हिनामिना गरेको भन्दै उजुरी


बिर्तामोड । पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका अध्यक्ष रेवती खनाल विरुद्ध उजुरी दर्ता गरिएको छ । सञ्चालक समितिले खनाल विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको हो ।

करोडभन्दा बढी रकम हिनामिना गरेर सम्पर्क बाहिर गएको महिना दिन वितिसक्दा पनि सम्पर्कमा नआएपछि उजुरी गरिएको संस्थाका सचिव मोहन विक्रम मल्लले जानकारी दिए । प्रहरीमा उजुरी गरेका छौं, अदालतबाट पक्राउ पुर्जी पाएपछि खोजी हुनेछ, मल्लले भने । भद्रपुर –८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल भदौं तेस्रो साता देखी सम्पर्कविहीन छन् । उनको खोजीका लागि परिवारले कतै पनि निवेदन नदिएको बुझिएको छ ।

सहकारी संस्थाले अध्यक्षले रकम हिनामिना गरेर हिडेको कुरा लामो समय गुपचुप बनाएको थियो । संस्थाको बद्नाम हुने डरले अध्यक्ष सम्पर्क बिहीन भएको कुरा बाहिर ल्याइएको थिएन । सञ्चालक समितिले अध्यक्ष खनाल सम्पर्क बाहिर भएपछि संस्थाको लेखा परीक्षण गरेको छ । लेखा परीक्षणका क्रममा खनालले १ करोड ५४ लाख ८२ हजार १८ रुपैयाँ ३५ पैसा हिनामिना गरेको पाइएको मल्लले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको समयमा खनालले फाइदा उठाएको आरोप छ । संस्थाको बैठक नबस्दा मनोमानी गरेको पाइयो । मल्लले भने, बैठक बसौं भन्दा कोरोना छ भन्दै टार्नु हुन्थ्यो । कुरो अर्कै भइसकेको रहेछ ।

बचत तथा ऋण सहकारी संघ लि.का लेखा समिति संयोजक समेत रहेका खनालले संस्थाले लिएको कर्जा चलाएको मल्लको भनाई छ । मल्लका अनुसार झापा जिल्ला सहकारी संघबाट संस्थाले लिएको कर्जा उनले आफै लगेको देखियो । सदस्यहरुको पैसा चलाइएको पाइएन । संस्थाले कर्जा लगानी बढाएर आम्दानी समेत वृद्धि गर्ने सोचले संघबाट ऋण लिएको उनको भनाई छ ।

दशैंअघि नै सञ्चालकहरुले ५-५ लाख शेयर थप गरेर सदस्यहरुको बचत फिर्ता गर्दै आएको छ । अहिले पनि संस्थाले संस्थाको नियम बमोजिम फिर्ता गर्नुपर्ने रकम फिर्ता गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]