जेष्ठ ३, २०८१ बिहीबार

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयात बढ्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ ।


चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताउनुभयो ।

उहाँले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्लादेशबाट आयात भएको बताउनुभयो । मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा रु ३४ करोड पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ ।

उहाँका अनुसार भारतबाट रु २३ करोड ९२ लाखको धान र रु आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा रु १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७८ मंगलबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]