विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी
काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् ।
मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ । मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणका काममा प्रयोग गरेको पाइए छानबिन गरी कारबाही गर्ने भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले जनाएको छ ।

निर्माण कम्पनीहरूले र योजना कार्यान्वयन कार्यालय आफंैले पनि यो बुुझ्ने विषय भएकाले अबउप्रान्त प्रयोग नहुने उनले जानकारी दिए ।
विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निकायले अबउप्रान्त ४३ ग्रेडको मारुती सिमेन्ट प्रयोग गर्न बन्देज लगाएका छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।
सडका विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शिवप्रसाद नेपालले भने, ‘पूर्वाधार तथा विकास निर्माणको काममा प्रयोग हुने सिमेन्टलगायतका निर्माण सामग्रीको गुणस्तर चेक जाँच नगरीकन कुनै पनि सामग्री प्रयोग हुँदैन । त्यसमाथि गुुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन भनिसकेपछि त्यसको प्रयोग गर्नै पाइँदैन । कसैले अटेर गरी प्रयोग गरे छानबिन गरी कारबाही गरिन्छ र निर्माण कम्पनी भए कालोसूचीमा पर्न जान्छ ।’
मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय मातहतका निकाय चनाखो बनेका छन् । विगतदेखि नै मारुती सिमेन्टको चेकजाँच गर्दा गुणस्तरमाथि शंका हुने गरेको र अब प्रयोगमा ल्याइए आयोजना नै धरापमा पर्ने भएकाले मारुती सिमेन्टको प्रयोग डुुब्न चाहनेले मात्र प्रयोग गर्ने एक अधिकारीले बताए ।
गुुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई गुणस्तरहीन भनिसकेको छ । त्यसैले अब यो सिमेन्ट प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी प्रयोग गरे छानबिन गरी कारबाही गरिन्छ र निर्माण कम्पनी भए कालोसूचीमा पर्न जान्छ
ई. शिवप्रसाद नेपाल, प्रवक्ता तथा उपमहानिर्देशक, सडक विभाग
सरकारी निकायले नै गुुणस्तरहीन भनिसकेकाले यसको प्रयोग सर्वसाधारणले पनि गर्न नहुने र कसैले घर निर्माणका लागि किनेको भए तत्काल फिर्ता गर्न मन्त्रालयका अधिकारीले आग्रह गरेका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।
४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले अझै कार्यान्वयन गरेको छैन ।
नेपाल गुणस्तर चिह्न प्राप्त भनी उपभोक्ता छक्याउँदै गुुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने सो कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले ल्याएको थियो ।
संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ एमपीए ७ र २८ दिनको मान ३३ र ४३ हुनुुपर्नेमा क्रमशः ३१ र ३७ मात्रै देखिएपछि विभागले नेपाल गुणस्तर ५७२ बमोजिम नरहेको भन्दै गुुणस्तरहीनको ट्याग झुन्ड्याइदिएको थियो ।
सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन गत १ मंसिरमै निर्देशन दिएको थियो । विभागले चित्तबुझ्दो जवाफ नदिए सो कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको छ ।
नेपाल गुुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको ओपीसी ४३ ग्रेडको बिक्री वितरण रोक्न र उपरोक्त व्याचको सम्पूूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन १५ दिनको निर्देशन दिएको थियो । आजको राजधानी दैनिकमा खवर छ ।