बैशाख २०, २०८१ बिहीबार

महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिदैं

इन्द्रकुमार राई
अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका –९ स्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिम परिसरमा १६ औं राष्ट्रिय विभूति एवम् समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको नवनिर्मित शालिक अनावरण गरिने भएको छ । मंसिर २६ गते आइतबार अनापरण गरिने जानकारी दिइएको छ ।

फाल्गुनन्द प्रतिष्ठानद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका सचिव लवकुश गौतमले बहुधार्मिक पर्यटकीय स्थलको पहिचान गराउन सफल नमुना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको किराँतेश्वर हाङसाम थेवा युमा माङहिम क्षेत्रमा बसोबास गर्ने आम किराँत धर्मावलम्बीहरुको पवित्र धार्मिक तिर्थस्थल रहेको बताए । नेपाल सरकारको २० लाख, साबिक जिबिसबाट ५ लाख र दाताहरुबाट २५ लाख गरि पूर्वाधारमा हालसम्म ५० लाख रुपैयाँ खर्च भइसकेको छ । २०७४ सालमा अन्तिम महिनादेखि निर्माण शुरु भई २ महिनामै निर्माण सम्पन्न भएको फाल्गुनन्द लिङदेनको पूर्णकद शालिकको अनावरण कार्यक्रम २०७७ साल बैशाख २६ गतेलाई तयारी गरिएको थियो । कोरोना भाइरसको महामारीले सो कार्यक्रम स्थगित भएको गौतमले जानकारी दिए ।

किराँत धर्मगरु आत्मानन्द लिङदेनसँगको समन्वयमा ढुंगाको प्रयोग गरि निर्माण सम्पन्न भएको शालिकको कुल लागत १० लाख रुपैयाँ रहेको र मञ्जुल मितेरी कला केन्द्रका मुर्तिकार भक्त राईले बनाएको उक्त शालिकको उचाइ ८.५ फिट रहेको छ । अनावरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य र विशेष अतिथिद्वय किराँत धर्मगुरु आत्मानन्द लिङदेन तथा गुरुआमा पवित्राहाङमा लिङदेनको उपस्थिति रहने प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]