अर्जुनधारामा ठुला दुई पुलको निर्माण तीब्र
इन्द्रकुमार राई
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाभित्र रहेको दुई खोलामा ठूला पुल निर्माण भइरहेको छ । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा खोलामा दुर्गापुर – दानाबारी सडक जोड्ने आरसीसी मोटोरेबल पुल निर्माणधिन छ ।
पुल भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश सरकारको ६ करोड ३९ लाख ८ हजार ३० रुपैयाँ १५ पैसा लगानीमा निर्माण भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए । पुलको १०३ मिटर लम्बाइ , चौडाइ ८ मिटर ४० सेन्टिमिटर र उचाइ ९.५ मिटर रहेको दाहालले जानकारी दिए । निर्माण कम्पनी अन्जना, हिमतारा जेभी इटहरीका अनुसार वि.सं. २०७७ जेठ २८ गतेदेखि पुल निर्माण कार्य शुरु भएको थियो । ०७९ असार मसान्तमा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । दहिखोलामा पुल बन्न थालेपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् । बर्षातको समयमा बाढी आउँदा खोला तरेर आवतजावत गर्न समस्या हुने गरेको थियो ।

त्यस्तै, अर्जुनधारा नगरपालिका – ३ स्थित सुखानी खोलामा जुकेखाडी–कैदले– खुदुनावारी सडक जोड्ने पुल निर्माण भइरहेको हो । नगरपालिकाको ३ करोड २८ लाख ४१ हजार ३ सय २२ रुपैयाँ लगानी रहेको वडाध्यक्ष जीवन भण्डारीले जानकारी दिए । उक्त पुल एलिट कन्ट्रक्सन कम्पनी काठमाडौले गत असारदेखि निर्माण कार्य शुरु गरिएको थियो । पुल आउँदो असार १ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताइएको छ । सुखानी खोलामा पुल बन्ने भएपछि स्थानीय भोला बराल भन्छन् – ‘टाङटिङ र सुखानी खोलाले छेकेको जुकेखाडी दुर्गम बस्ती भएको हुँदा हामीलाई वर्षा याममा हाटबजार भर्न कठिनाइ हुने गरेकोले पुल निर्माण हुँदा हामी सबै लाभान्वित हुनेछौ ।’