जेष्ठ ६, २०८१ आईतबार

झापामा बेल्ला मोटर्सबाट ठगिए सर्वसाधारण

बिर्तामोड । झापाको बिर्तामोडबाट बेल्ला मोटर्स खरिद गरेका व्यक्ति ठगिएका छन् । बिर्तामोड– १ मा रहेको आरती बुद्ध अटो मोवाइल्सबाट ढुवानीका लागि खरिद गरेको बेल्ला मोटर्समा अनेकौ समस्या देखा परेपछि खरिदकर्ताहरु ठगिएको भन्दै पैसा फिर्ता गर्न आग्रह गरेका छन् । उनीहरुले विक्रेताले भने अनुसार गाडि नभएको भन्दै तत्काल रकम फिर्ताको माग गरेका हुन् ।

बुद्धशान्ती–३ का दिपक भट्टराई, बिर्तामोड ३ का आस्मुदिन खान, दिलिप दास र बाह्रदशी–५ का रासिद खानले बिर्तामोडस्थित आरती बुद्ध अटो मोवाइल्सबाट बेल्ला माटर्स खरिद गरेका थिए । उनीहरुलाई प्रति लिटर ३५ किलोमिटर माइलेज कुदाउन सकिने विक्रेताले भने पनि अधिकतम ७ देखि १० किलोमिटर मात्रै कुदाउन सकिएको पीडितहरुको भनाई छ । भनेजति माइलेज नभएको, अस्वभाविक रुपमा इन्जिन तातिएको र पानी चुहिने समस्याले खरिदकर्ता हैरान भएका छन् ।

बिर्तामोडमा आस्मुदिन खानले खरिद गरेको २ महिना मै पानी चुहिने समस्या आएपछि सोरुममा समस्या सुनाएका थिए । सोरुमले बनाइदिने भने अनुसार तत्कालका लागि बनाए पनि पानी चुहिने समस्या हल नभएको खानको भनाई छ । उनका अनुसार पटक–पटक बनाउदा पनि समस्या हल नभएकाले गाडि नै सोरुमलाई बुझाएका छन् । ८ महिनादेखि सोरुममा गाडि बुझाएका खानले नत नयाँ गाडि पाएका छन्, नत पैसा नै फिर्ता पाएका छन् । उनले गाडि राखेर पैसा फिर्ता दिन भनेको ८ महिना वितिसकेको छ । महिनौं वितिसक्दा समेत कुनै समाधान नपाएपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीमा उजुरी गरेपछि एक हप्ताभित्र समाधान खोज्ने सहमति भएको थियो । पीडितहरुका अनुसार सो सहमति समेत कार्यान्वयन भएको छैन ।

पीडितहरुले अब गाडि लैजान नसक्ने भन्दै पैसा वा पैसा नभए अटो खरिद गरेर हिसाव मिलाउन विकल्प दिएका छन् । बेल्ला मोटर्सका विक्रेता टिका ओडारीले पटक–पटक समस्या समाधानका लागि आश्वासन दिए पनि भेट नदिएको पीडितहरुको गुनासो छ ।
३०० सीसीको बेल्ला मोटर्स उनीहरुले ६ लाख ४२ हजारका दरले खरिद गरेका थिए । सबैले ऋणबाट खरिद गरेकाले त्यसको साँवा–व्याज तिर्न अप्ठ्यारो भइरहेको जानकारी दिएका छन् । खानले बिर्तामोडको कर्णालीबाट धितो राखेर कर्जा लिएका थिए । पहिलो २ महिनादेखि कर्जाको कुनै किस्ता बुझाउन नसकेको खानको भनाई छ । उनी भन्छन्, गाडि नै चलाउन नपाए पछि कसरी किस्ता तिर्नु ? कमशल गाडिलाई राम्रो भन्दै झुक्याएर विक्रि गरेको पीडितहरुको आरोप छ ।

सोरुमका सेल्स म्यानेजर विवेक निरौलाले कम्पनीलाई समस्या बारे पटक–पटक जानकारी गराइएको बताए । उनका अनुसार माथिबाट कुनै पनि सुनुवाई हुने छाँटकाँट छैन । यता, आरती बुद्ध अटो मोवाइल्सका सञ्चालक टिका ओडारीले कम्पनीको विश्वासमा गाडि विक्रि गरेको जानकारी दिए । उनले कम्पनीले बताए अनुसारकै विशेषता बताएर विक्रि गरेको स्वीकार गरेका छन् । हामीलाई जे बताइएको थियो, त्यै भनेर बेचेकै हो– ओडारी भन्छन् । शुरुआतमा साना समस्या आउँदा आफै समाधान गरेको उनको भनाई । ओडारीका अनुसार पछिल्लो समय ठुलो समस्या आएपछि कम्पनीलाई नै जानकारी गराइएको छ । खरिदकर्ताले दवाव दिएपछि ओडारीले कम्पनीका प्रतिनिधि बोलाएर इलाका प्रहरी कार्यालय अनारमनीमा एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति समेत गराएका थिए । तर, सहमति अनुसारको समय समेत सकिएको छ ।

बेल्ला मोटर्सलाई ओडारीले बुझाउनु पर्ने रकम नबुझाएका कारण समाधानमा चासो नदिएको बुझिएको छ । ओडारीलाई पैसा किन नबुझाएको भन्ने प्रश्न गर्दा उनले भने, – ‘गाडि बेच्दै पैसा दिने सहमति भएको थियो । गाडिमा समस्या आइरहेको अवस्थमा कसरी पैसा बुझाउनु ? पैसा बुझाएपछि पीडितको सुनुवाई नहुने संभावना हुन्छ, त्यसैले ५/६ लाख बुझाएको छैन ।’ कम्पनीका मालिक किशानध्वज कार्कीले पछिल्लो समय फोन समेत नउठाएको ओडारीको भनाई छ ।

प्रकाशित मिति : पुष ३, २०७८ शनिबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]