जेष्ठ ६, २०८१ आईतबार

प्रसाईद्वारा २ सय विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । सोमवार एक कार्यक्रमका बिच प्रसाईले अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारलाई स्वास्थ्य बीमा गरिदिएका हुन् । उनीहरुले अब सरकारको नीति अनुरुप १ लाखको स्वास्थ्य उपचार गर्न पाउनेछन् ।

कार्यकारी निर्देशक प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३ का विपन्न २०३ परिवारको स्वास्थ्य बीमा गरेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । बीमा सुविधाबाट बञ्चित ती परिवारको बीमा बापत लाग्ने तीन हजार पाँच सय रुपैँया प्रति परिवारका दरले सात लाख बढि रकम तिरेर बीमा सुविधा उपलब्ध गराउने प्रसाईले बताए । प्रसाईले आर्थिक अभावकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले आफूले सो काम गरिदिएको जानकारी दिए ।

उनले सो क्षेत्रका बासिन्दालाई कुनै अभाव वा समस्या आइ परेमा आफूकहाँ आउन आग्रह गरेका छन् । ‘तपाईहरु भोकै बस्नु पर्दैन, त्यस्तै अवस्था आए म कहाँ आउनुहोस,’ उनले भने,‘तपाईहरुको छोराछोरीको विहे गर्न १०-२० हजार खर्चले अप्ठ्यारो पर्यो भने आउनुहोस म दिन्छु ।’
कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले प्रतिनिधिमुलक रुपमा मानबहादुर दर्जी आइतमाया लिम्बू, देउबहादुर बराइली, रेश्मा केरुङ, मनमाया लिम्बू र रुद्र गजमेरलाई बीमा कार्ड वितरण गरेका थिए ।

अति विपन्न परिवारलाई अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य बीमा गराइदिएको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ । उनका अनुसार छिमेकी जिल्ला इलामको माई नगरपालिकाको थाक्लेमा पनि दुई सय परिवार गरि हालसम्ममा ४ सय ३ जनाको बीमा गरिएको छ ।

अभियान नेपालको सहजीकरणमा बिमा कार्ड वितरण गरिएको थियो । अभियानकै पहलमा बाँकी परिवारका लागि स्वास्थ्य बीमा गरिने अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठले बताए । कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सेवा गरेको भन्दै बिएण्डसी अस्पताल र कार्यकारी निर्देशक प्रसाईको सामाजिक कार्यको प्रशंसा गरे । सोही अवसरमा कार्यकारी निर्देशक प्रसाईले स्थानीय श्री सर्वेश्वर शिव पाञ्चायन मन्दिरमा ८-८ फिट अग्लो शिव र दुर्गाको मूर्ति स्थापना गरिदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष ५, २०७८ सोमबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]