जेष्ठ ७, २०८१ सोमबार

ऐतिहासिक शनिश्चरे बजारको विकास गरिदैं

इन्द्रकुमार राई
अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकास्थित पुरानो बजार शनिश्चरेलाई विकास गरिने भएको छ । बजार क्षेत्रलाई निर्माण गरेर सुन्दर र व्यवस्थित बजारको रुपमा विकास गर्ने तयारी गरिएको छ ।

सय बर्ष भन्दाबढी पुरानो शनिश्चरे बजारलाई आधुनिकीकरण गरि स्वच्छ, सफा, सुन्दर नगरी रुपमा पर्यटकीय गन्तव्य स्थल बनाउन स्थानीय बुद्धिजीवी, समाजसेवी तथा जनप्रतिनिधिहरु लागि परेका छन् । पुरानो बजार आधुनिकीकरण गर्ने क्रममा पञ्चायतकालिन तथा साबिक शनिश्चरे गाउँ विकास समितिको पालामा बजार क्षेत्रभित्र निर्माण गरिएको सामुदायिक भवन बाहेक ४ वटा कच्ची र १ सार्वजनिक शौचालय सहित ६ वटा पक्की टहराहरु भत्काइएको अर्जुनधारा नगरपालिकाका इन्जिनियर निरज अधिकारीले जानकारी दिए । अधिकारी अनुसार अर्जुनधारा जलेश्वरधाम मार्ग दायाँ १ करोड ४० लाख रुपैयाँ लागतमा २ वटा जम्मा २० वटा सटर भएको पक्की टहरा निर्माण गरिएको छ ।

सडकको बायाँतर्फ दुर्गा भवानीको मन्दिर अगाडि महाभारतकालिन युद्ध झल्काउने भगवान श्रीकृष्णले अर्जुनलाई साथ लिएर रथ हाँकेको कलात्मक प्रतिमा र रथको पूर्वतर्फ नजिकै पर्यटकहरुलाई बस्नका लागि चौतारी निर्माण गरिएको छ । उक्त प्रतिमा र चौतारी दुवैको लागत जम्मा ३० लाख रुपैयाँ रहेको छ । खुदुनाबारी – विर्तामोड र बजार चोकदेखि बुद्धशान्ति गाउँपालिका जयपुरसम्म ४६ फिट चौडाइ फराकिलो सडक पारिएको उनको भनाइ छ । अर्जुनधारा जलेश्वरधाम मार्ग ६० लाख रुपैयाँ लागतमा बजार चोकदेखि बारदर्शी पुलसम्म नालीबाहेक ४० फिट चौडाइ पेवर्स विछ्याइएको अत्याधुनिक सडक निर्माण गरिएको छ । बजारलाई रातभर उज्यालो पार्न २० लाख रुपैयाँ लागत खर्च गरेर ९ वटा सोलर बत्ती जडान गरिएको छ ।

शनिश्चरे बजार चोक देखि उत्तर– पूर्व करीब ५०० मिटर दुरिमा पर्ने सात–पत्रे क्षेत्रमा जग्गादाताबाट बजारलाई निःशुल्क १० कठ्ठा ४ धुर प्राप्त जमिनमा ७२ वटा सटर भएको २ करोड २ लाख रुपैयाँ लागतमा कृषि मण्डी निर्माण गरिएको नगरपालिकाका परिषद् सदस्य सेवन्त ढकालले जानकारी दिए । ढकाल भन्छन – मेरो पहलमा जग्गादाताद्वय रबि पोद्धार र विनोद पोखरेलबाट बजारलाई १० कठ्ठा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि कृषि मण्डी निर्माण गर्न सहज भएको हो । निर्माण कै तिव्र क्रममा हाल महाकवि लक्ष्मीप्रसाद देवकोटाको दक्षिण छेउमै बजार चोकदेखि पश्चिम शनिश्चरे – विर्तामोड – चारपाने सडक जोड्ने ११४ मिटर लामो , नालीबाहेक १३ .३ फिट चौडाइ पेवर्स विछ्याइएको बैकल्पिक मार्ग निर्माण भइरहेको निर्माण समितिका संयोजक मिश्रकुमारी राईले जानकारी दिइन् ।

पेवर्स विछ्याइएको बाटो निर्माण सम्पन्न गरेपछि बजार चोकमा १ स्तम्भ र आदिवासी मुलका मान्छेले बयल गाडा ( गोरु गाडी ) हाँकेको मुर्ति निर्माण कार्य थालनी गर्ने राईले बताइन् । तिनै काम सम्पन्न गर्न निर्माण लागत ५५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । इतिहास बोकेको धरोहर शनिश्चरे बजारको सौन्दर्यता बढाई पर्यटकीय स्थलका रुपमा विकासित गर्नका लागि आफूहरु अहोरात्र लागि परेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना बताउँछन् । रानाका अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गराउन विर्तामोड नगरपालिका सिमाना महानन्द चौक नगरपालिकाको आकर्षक द्वार चाँडै निर्माण गरि अर्जुन भगवानको पूर्णकद , आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्टको अर्धकद प्रतिमा गेटमा राखिने छ । बजार क्षेत्रमा अवस्थित गाडी पार्किङ व्यवस्थापन गरिने उनको जोड छ । वि .स.१९ ७५ सालमा गन्जबहादुर कार्कीले शनिश्चरे बजार स्थापना गरेको पुराना स्थानीय नारायण प्रसाद अधिकारी बताउँछन् ।

अहिलेको बजार साबिक अर्जुनधारा गाविस वडा नम्बर २ स्थित गढी गाउँमा रहेको थियो । बजार स्थापना भएको केही बर्षपछि यहाँका विकासप्रेमी रघुविर बुढाथोकी , भूपालमानसिंह कार्की , धर्मप्रसाद ढकाल लगायतले गढीबाट बजार शनिश्चरे क्षेत्रमा सारेको स्थानीय बूढापाकाहरु बताउँछन् ।

प्रकाशित मिति : पुष ११, २०७८ आईतबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]