चैत्र १५, २०८० बिहीबार

बगरे भञ्ज्याङमा पर्यटकको लर्को

खोटाङ, १२ पुस (रासस) – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज (पिकनिक) खान आउने आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको हो । समुद्री सहतबाट करिब एक हजार ८०० मिटर उचाइमा टावर रहेको छ । स्थानीयवासी डम्बर भुजेल भन्नुभयो ,“निर्माणाधीन पेन टावर पर्यटकका लागि खुला गरिएको छैन ।

भौतिक पूर्वाधार पर्याप्त नभएपनि अवलोकन गर्न, सेल्फी खिच्न र पिकनिक खान हुलकाहुल मान्छे आउने गरेका छन् ।” सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न गरेर बढाबढमा ठेक्का आव्हान गर्छौं । बढीमा चलाउन सक्छु भनेर आधार पेश गर्छ । उसैमार्फत नयाँ वर्षभन्दा पहिले नै सम्झौता गरेर व्यवस्थितरुपले सञ्चालन गर्ने तयारी गरिएको छ ।” सङ्घीय सरकारको समपूरक कोषअन्तर्गतको रु ७२ लाख लगानीमा बनिरहेको सो टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ । टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृष्यावलोकन गर्न सकिन्छ । टावर परिसरमा पिकनिक स्पोर्टस (वनभोजस्थल) निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि १ नं प्रदेश सरकारको समपूरक कोषको रु ७१ लाख लगानी रहेको नगरपालिकाले जनाएको छ । पर्यटकलाई लक्षित गरेर कृतिम तालसमेत निर्माण भइरहेको छ ।

‘रुरु ताल’ भनेर नामाकरण गरिएको कृतिम तालका लागि नगरपालिकाको क्रमागत बजेट अन्तरगत यस वर्ष रु ५४ लाख लगानीमा काम सुरु गरिएको हो । तीन वर्षभित्र सम्पन्न गरिने तालको काम रु दुई करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताउनुभयो । “करिब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब सात मिटर गहिराईमा पानी जम्नेछ”, उहाँले भन्नुभयो, “ तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा गरिएको छ ।” नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन कृतिम ताल १८० मिटर लम्बाई र १५० मिटर चौडाइको हुने जनाइएको छ । निर्माणाधीन कृतिम तालमा पानीको अभाव भएमा आसपासका मुहानबाट ल्याएर लगाउने योजनासमेत बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत यस आर्थिक वर्ष रु ५४ लाख बजेटबाट काम सुरु गरिएको दिक्तेल–पाथेका सडकखण्डमा पर्ने बगरे भञ्ज्याङको पेन टावर, कृतिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

वर्षात्का समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दुई घण्टा पैदलयात्रामा पुगिने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा पर्यटन प्रवद्र्धनको काम सुरु भएपछि स्थानीयवासीले होटल तथा रेष्टुराँ खोल्न जग्गासमेत खरिद गर्न थालेका छन् । मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्गसमेत निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनको काम भइरहेको बगरे भञ्ज्याङ आसपास ठूला चउर, घाँसे मैदान तथा खर्कहरु रहेको छ ।

भौगालिकरुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाँप, विभिन्न प्रजातिको सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पाइन्छ । मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ । बगरे भञ्ज्याङबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडालगायतका ठाउँ जाने पदमार्गसमेत निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिकरुपले भरिपूर्ण चारैतिर हरियाली रहेको उक्त ठाउँमा यसअघि पनि आन्तरिक तथा वाह्य पर्यटक घुम्न तथा वनभोजका लागि जाने गरेका छन् । बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक अहिले धमाधम फराकिालो पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० पदमार्गअन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ । पर्यटन प्रवद्र्धनका लागि सरकारले निर्धारण गरेको पदमार्गमा पर्ने बगरे भञ्ज्याङको कृतिम ताल निर्माणलाई निक्कै महत्वका साथ हेरिएको छ । मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घा समेतको हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । ठूला–ठूला घाँसे मैदान, लमतन्न फैलिएका चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दम्साइलो बाटो उक्त पदमार्गको विशेषता हो ।

प्रकाशित मिति : पुष १२, २०७८ सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]