माघ १०, २०७८ सोमबार

महायज्ञबाट चार करोड सङ्कलन

रत्ननगर । मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिए । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उनका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि रु दुई करोड खर्च भइसकेको भन्दै रु एक करोड सहकारीबाट ऋण लिएको बताए । “हामीले चितवनमा आश्रम भवन बनाउन सहकारीबाट एक करोड ऋण लिएका थियौँ”, अधिकारीले भने, “५० लाख बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग आएको थियो बाँकी रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट सापटी लिएर काम गरेका थियौँ ।” महायज्ञबाट सङ्कलन भएको रकमबाट सहकारीको ऋण तिरेर बाँकी रकमले भवन निर्माण सम्पन्न गरिने अधिकारीको भनाइ छ । 

पुस १५ बाट महाकाली-मेची यात्रा
मानवसेवा आश्रमले यही पुस १५ देखि महाकाली–मेची यात्रा सुरु गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । जाडो महिनामा सडक किनारमा धेरै मानिसले रात बिताउने गरेका भन्दै अधिकारीले उनीहरुको उद्धारका लागि महाकाली–मेची यात्रा सुरु गर्न लागेको बताए । “हामीले गत वर्ष मेचीबाट यात्रा सुरु गरेका थियौँ, त्यसबेला हामीले सडकबाट ७५० जनाको उद्धार गरेका थियौँ”, अधिकारीले भने, “यस वर्ष महाकालीबाट यात्रा सुरु गर्दैछौँ । हाम्रो यात्रा १७ दिनमा पूरा हुन्छ ।”

यात्राका क्रममा राजमार्ग छेउमा पर्ने स्थानीय तहहरूसँग मानवताका बारेमा र सहयोगापेक्षी सडक मानवका विषयमा अन्तक्र्रिया गरिने अधिकारीले बताए । महाकाली– मेची यात्राका लागि दुईवटा टोली निर्माण गरिएको भन्दै उहाँले मुख्य टोलीमा १५ जना सहभागी हुने जानकारी दिए । “हाम्रो १५ जनाको टोलीले पूर्वपश्चिम राजमार्ग र नजिकैका मुख्य बजार क्षेत्रमा यात्रा गर्नेछ”, अधिकारीले भने, “अर्को टोलीले राजमार्गबाट उत्तरतर्फ भएका काठमाडौँ, पोखरालगायतका सहरमा यात्रा गर्दै सहयोगापेक्षी सडक मानवको उद्धार गर्नेछ ।”

महाकालीबाट मेचीसम्मको यात्राका क्रममा राजमार्ग वरिपरिका मानवसेवा आश्रमका विभिन्न ११ वटा जिल्ला शाखाको भ्रमणसमेत गरिने अधिकारीले बताए । सडक किनारबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर जिल्ला शाखामा व्यवस्थापन गरिने अधिकारीले बताए । मानवसेवा आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा २५ वटा शाखा सञ्चालन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास