बैशाख ८, २०८१ शनिबार

अर्जुनधाराका ९ वर्षीय बसन्त : खोरमा बित्दैछ बालापन

अर्जुनधारा । झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाल खोरमा आफ्नो बालापन बिताइरहेका छन् । ७ महिनादेखि उनलाई परिवारले खोरमा राख्दै आएको छ ।

जन्मजात अस्वभाविक व्यवहार भएका बसन्त उमेर बढ्दै गएपछि खोरमा बस्न बाध्य छन् । परिवारले उनलाई खोरमा राखेर कामधन्दा गर्नु परेको छ । उनका बुबा गुप्त बहादुर दाहालका अनुसार बाहिर राख्नै नमिल्ने अवस्था भएपछि खोर बनाएर राखिएको हो । घर नजिकै खोर बनाएर राखिएको छ, बुबा गुप्त बहादुर भन्छन्– ‘अर्काकोमा गएर विगार गर्ने पीर हुन्छ, बारीमा लगाएको बाली, सागपात उखेल्छ । त्यसबाट जोगाउन खोरमा राखेर हेरचाह गर्दै आएका छौं ।’

सामान्य आर्थिक अवस्थाका दाहाल परिवारले उनको उपचारका लागि मेची अस्पतालमा १५ दिन राखे । केहि वर्षअघि उनीहरुले मेची अस्पतालपछि सिलिगुडीस्थित डाक्टर मन्त्रीसम्म पुगे । छोरामा केहि सुधार नभए पछि अहिले घरमै राखिरहेका छौं, गुप्त बहादुरले थपे ।
सानोमा बसन्त आँखा फर्काउने, मुर्छा पर्ने गर्थे । दमकको लाइफलाईनमा जन्मिएका उनको स्वास्थ्यबारे डाक्टरले त्यस बेला केहि नबताएको परिवारको भनाई छ । अहिले बसन्त रुने, चिच्याउने र आफ्नै गालामा झापड हान्ने गर्छन् । खोरबाट बाहिर निकाल्ने वित्तिकै टाढा–टाढा जाने गरेको परिवारको भनाई छ । उनका बुबा भन्छन्, खोरबाट निस्कियो भने कता जान्छ टुङ्गै हुदैन, मोटरसाइकलले हान्छ कि, टिपरले किच्छ भन्ने पीरले थुनेर राखेका छौं ।

विहान ६ बजेदेखि उनलाई खोरमा राखेर काम गर्ने गरिन्छ, उनकी आमाले भनिन् । रातीसँगै सुताए पनि दिनभर काम गर्न थुन्नै पर्ने बाध्यता छ । उनीहरु अहिले छोराको उपचार संभव नहुने भन्दै चुपचाप बसेका छन् । दाहाल परिवारको कान्छा सन्तान बसन्तका दाई वैदेशिक रोजगारमा छन् । एक जना दिदीको विवाह भइसकेको छ । कान मज्जाले सुन्ने बसन्त अलिअलि कुरा बुझे जस्तै गर्छन्, हजुरआमाले भनिन् ।
स्थानीय अगुवा युवा कमल पोखरेलले बसन्त दाहाललाई परामर्शको जरुरी भएको बताउँछन् । उनको बुझाईमा बालकलाई धेरैभन्दा धेरै परामर्श चाहिएको छ । पोखरेल भन्छन्, पिङ खेल भन्दा पिङ खेल्ने बच्चालाई त्यस्तै वातावारणमा राखेर उपचार गर्नुपर्छ । उनले तत्काल बसन्तको उद्धारका लागि सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : पुष १४, २०७८ बुधबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]