बैशाख ११, २०८१ मंगलबार

‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा

मेचीनगर- नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधबारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले विधित उद्घाटन गरे लगत्तै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख आचार्यले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । सवै सीमाक्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्षदेखि ठाउँ ठाउँमा स्वास्थ्य केन्द्र, चौकीहरु स्थापना गरेको भन्दैं नगरप्रमुख आचार्यले कहिले औलो नियन्त्रण र रोकथामका लागि त कहिले कालोज्वरो, कहिले दादुरा तथा कहिले पोलयिोका लागि यस्ता संरचना तयार गरेको बताउनुभयो ।

अहिले कोभिड १९ को पहिलो दोस्रो हुदैं ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले र यो सम्वेदनशील समय र विषेश नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरेको नगरप्रमुख आचार्यको भनाई छ । कोभिडलगायत अन्य सरुवासहित महामारी रोग नियन्त्रणमा यो ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसलाई एउटा प्रारम्भिक उपचारको केन्द्रका रुपमा यो संरचना स्थापित भएको उहाँको भनाई छ । यसको प्रयोग र यसनाकाबाट आवत जावत गर्ने हरेक मानिसहरुलाई एकद्वार प्रणालीबाट आवत जावत गर्नका लागि नगरप्रमुख आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाको ध्यनाकर्षण गराउनुभयो ।

सुरक्षा, राजस्व चुहावट, विभिन्न आपराधिक गतिविधिका हिसावले गर्दा जाने र आउने अलग अलग बाटो प्रयोग गर्न आवश्यक रहेको उहाँको भनाई छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सवै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । डेक्समा वेडको पनि व्यवस्था रहेकाले अन्य खालका विरामीहरुले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने बताउनुभयो । नगरपालिकाले यहिबाट कोभिड १९ विरुद्घको खोप समेत उपलब्ध गराउने उहाँको भनाई छ ।

मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्शासकीय अधिकृत खेमराज ओझा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य धनप्रसाद गुरुङलगयातले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकास वस्तीले गर्नुभएको थियो । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाको प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल,संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

मेचीनगर नगरपालिकाको पहलमा नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करीव ५० लाख रुपैयाँको लागतमा हेल्थ डेक्सको कार्यालय निर्माणमा विनियोजन गरिएको हो । निर्माणमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : पुष २१, २०७८ बुधबार  १ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]