चैत्र १६, २०८० शुक्रबार

नेप्से सूचक ७३.०१ अंकले बढ्दा शेयरबजारमा लगानीकर्ता उत्साहित

झापा । हप्ताको पहिलो दिन आइतबार शेयरबजार कारोबारका लगानीकर्ताको उत्साह बढेको पाइएको छ । पछिल्लो तीन महिनादेखि निरन्तर खस्कँदै गएको कारोबार रकममा आएको वृद्धिले लगानीकर्ताहरू पुनः शेयर किनबेचमा उत्साहित देखिएका छन् ।

नेप्से झण्डै १ सय अंकले बढ्दा पनि २ देखि ४ अर्बको हाराहारीमा मात्रै कारोबार हुँदै आएपछि लगानीकर्तामा निराशा छाएको अड्कलबाजी हुँदै आएको थियो । यद्यपि आइतबार लगानीकर्ताको उपस्थिति बाक्लिएसँगै शेयर काराबोरमा लगानीकर्ता फेरि सक्रिय बन्ने छनक देखिएको छ । आइतबार नेप्से सूचक ७३.०१ अंकले बढेर २७६५.४७ अंकमा पुगेर बन्द हुँदा २ सय ३९ कम्पनीको १ करोड ५० लाख कित्ता ७ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको हो ।

यता सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५ सय १९ अंकमा पुगेको छ । कारोबार सुरु भएको एक घण्टामा नै आक्रामक देखिएको बुल कारोबार समयभर तलमाथि गरिरह्यो । एक घण्टामा ७३ अंकले नै बढेको नेप्से त्यसपछि केही तल झरे पनि अन्तिम समयसम्म बजार उकालो लागेर बन्द हुन पुग्यो ।

बजार हरियो बन्दा व्यापार, विकास बैंक र वित्त समूहका कम्पनीको शेयरमूल्य अन्यको तुलनामा केही बढेको छ । यी तीनै समूहको क्रमशः ६.०८, ५.४९ र ५.१६ प्रतिशतले सूचक बढेसँगै आजको कारोबारमा शेयरमूल्य बढाउने कम्पनीहरूमा यिनै समूहको हालीमुहाली देखिएको हो । यद्यपि कारोबारमा आएका १ सय ८३ कम्पनी शेयरमूल्य बढाउन सफल बनेका छन् । बढेको बजारमा ६ कम्पनी भने घट्नेमा देखिए । जसमा मिथिला लघुवित्त, बोटलर्स नेपाल, चन्द्रागिरी हिल्सलगायतका कम्पनी अगाडि छन् ।

यता बढ्नेहरूको भिडमा भने नेपाल हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनी अगाडि छन् । यी दुवै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य सातवटा कम्पनीको सर्किट लेबलमै शेयरमूल्य बढेको छ । समग्रमा आजको बजारबाट १ सय ८३ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।

कारोबार सुरु भएको केही समयमै आक्रामक रूपमा शेयर किनबेचमा उत्रिएका लगानीकर्ताले १ घण्टामा नै २ अर्बभन्दा माथिको कारोबार गरेका थिए । समग्रमा दिनभर शेयर काराबोरमा लगानीकर्ता उत्साहित बन्दा ७ अर्बको कारोबार हुन पुगेको हो । जसमा सबैभन्दा धेरै अपि पावर कम्पनीको छ । यो कम्पनीको शेयर लगानीकर्ताले एकै दिनमा २९ करोड मूल्यबराबरको कारोबार गरेका हुन् । योसँगै प्रभु बैंकको २० करोड, माथिल्लो तामाकोशीको २० करोड र शिवम् सिमेन्टको १९ करोड रुपैयाँको शेयर किनबेच लगानीकर्ताले गरेका हुन् ।

प्रकाशित मिति : पुष २५, २०७८ आईतबार  ५ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]