बैशाख १४, २०८१ शुक्रबार

बुद्धशान्तिबासीलाई हात्तीको त्रास, रातभर जागै

बुधबारे । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् ।

जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् । स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा छन् ।

जङ्गली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताइन् । ‘सुत्न पाएका छैनौंँ, बालीको संरक्षण गर्न धौ धौ परेको छ’, उनले रुँदै भनिन्, ‘बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ । कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो ।’ गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताएका छन् । विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उनको भनाइ छ ।

सिमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको मास्केले बताए । साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ । हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए । तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]