बैशाख ८, २०८१ शनिबार

सारेगमपको उपाधि नजिक झापाली दुई चेली

झापा – नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को फाइनलमा झापाकी दुई चेली पुगेका छन् । झापाका १४ वर्षीय प्रतियोगीद्वय कृपा पौडेल र रोशा फुयाँल सारेगमपको उपाधि नजिक पुगेका हुन् ।

निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा, ग्रान्ड जुरी र समर्थकलाई मुहुनी लगाउँदै उनीहरू फाइनल (टप फाइभ) मा पुगेका हुन् । रोशा र कृपासँगै पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरे शीर्ष पाँचमा पुगेका छन् । अब, आगामी माघ २२ गते प्रतिस्पर्धा गर्ने छन् ।

बिर्तामोड नगरपालिका–३ रामचोक घर भएकी कृपा हाल कक्षा ९ मा अध्ययनरत छिन् । स्थानीय मनमाया माध्यमिक विद्यालयमा अध्ययनरत कृपा सानैदेखि गुनगुनाउँथिन् । सङ्गीत सिक्न थालेको भने लामो समय भएको छैन । बिर्तामोडस्थित ‘सप्तक द इन्स्टिच्युट अफ पर्फमिङ आर्ट्स’मा विगत चार महिनादेखि सङ्गीत सिक्न थालेकी हुन् । त्यसअघि केही समय सरगम सङ्गीतालयमा म्युजिक सिकिन् ।


उनको परिवारमा अरू कोही गायन विधामा छैनन् । तर उनलाई भने सङ्गीत क्षेत्रमा ठुलो रुचि छ । उनले यसअघि कुनै गायन रियालिटी सोमा सहभागिता जनाएकी छैनन् । तर पनि निरन्तरको साधनाले उनलाई एक कुशल गायिका बन्नतिर डोहोर्‍याउँदै छ । ‘परिवारमा अरू कोही सङ्गीत क्षेत्रमा छैनन् तर सानैदेखि उसले यो क्षेत्र मन पराएकी छ’, आमा अनिता पौडेल भन्छिन्, ‘छोरीको रुचि मात्र नभए सपनै एउटा गायिका बन्ने छ । यसलाई साकार बनाउन सारेगमपले साथ दिइरहेको छ ।’

विद्यालयका केही साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएर श्रोतालाई मन्त्रमुग्ध बनाउन सफल कृपा प्रदेशस्तरीय गायन प्रतियोगिताकी उपविजेता भइसकेकी छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कार थापेकी कृपाले झन् आफूलाई दृढ बनाएर यस क्षेत्रमा समर्पित गरिन् । सङ्गीत क्षेत्रमा आफूलाई निखार बनाउन उनले शिव ताण्डव स्तोत्र गाएर युट्युबमामा हालेकी छन् ।

रोशाको अनुभव भने प्रेरणा र कृपाको भन्दा केही लामो छ । उनले औपचारिक रूपमा सङ्गीत सिक्न थालेको आठ–नौ वर्ष भयो । चार वर्षको उमेरबाट सङ्गीत सिक्न थालेकी उनले पनि श्रोतालाई मन्त्रमुग्ध बनाउने क्रम जारी नै राखेकी छन् ।


उनका दाजु रोशन हुन्, रोशाको पहिलो गुरु । सङ्गीतमा रोशनकै हात समातेर अगाडि बढेकी रोशाले दाजुसँगै हार्मोनियम चलाउन सिकिन् । दाइ पनि सङ्गीत क्षेत्रमा लागिपरेका छन् । उनकै बाटोमा अगाडि बढ्नेक्रममा छिन्, रोशा पनि । सङ्गीतमै केही गर्छु भनेर अगाडि बढिरहेकी उनलाई सारेगमपले साथ दिइरहेको छ ।

‘सारेगमपले उसको सपनालाई साकार गर्ने काम गरिरहेको छ’, रोशाकी आमा कला बाँस्कोटा भन्छिन्, ‘दाइले सिकाएको हो । दाइले सिक्दै गर्दा उसलाई राग र हार्मोनियम सिकाउँथ्यो । उसले डोहो¥याउँदै गर्दा सारेगमपसँग रोशाको भेट भएको हो । एक दिन गायिका बन्छु भनेर सपना सुनाइरहन्थी । सायद यहीबाटै पूरा हुन्छ ।’

मेचीनगर नगरपालिका–८ स्थायी घर भएकी उनी हाल बिर्तामोड–५ बस्छिन् । स्थानीय देवी माविमा कक्षा ९ मा अध्ययन गर्ने उनले बिर्तामोडकै सनलाइट म्युजिक स्कुलमा सङ्गीत सिकिरहेकी छन् । अहिले उनी अरू प्रतियोगीजस्तै सारेगमपमा सहभागी छिमेकी मुलुक भारत र स्वदेशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  ३ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]