जेष्ठ ३, २०८१ बिहीबार

कचनकवलका स्वयम्सेविकालाई साइकल

भद्रपुर । गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै कचनकवल गाउँपालिकाले साइकल उपलब्ध गराएको छ ।

स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सात जनासमेत ६८ जनालाई सोमवार एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयम्सेविकाहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिएका छन् । सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सात जना स्वयम्सेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो ।
नयाँ साइकल पाउँदा निकै खुशी भएका स्वास्थ्य स्वय्सेविकाहरुले गाउँपालिकाले आफ्नो कामको सम्मान गरेको प्रतिक्रया दिएका छन् ।

गाउँपालिका अध्यक्ष आलमले स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर खासगरी बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयम्सेविकाहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उनीहरुलाई काममा थप प्रेरित गर्न र उनीहरुको कामलाई सहज बनाउन साइकल प्रदान गरिएको बताए ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]