बैशाख २१, २०८१ शुक्रबार

पन्ध्र वर्षपछि गोलधापमा खानेपानी वितरणको तयारी


गोल्धाप । झापा गोल्धापका नागरिक खानेपानीको पर्खाइमा बसेको १५ वर्ष पुरा भएको छ । हल्दिवारी–१ गोल्धापमा खानेपानी आयोजना निर्माण शुरु भएदेखि नै सो क्षेत्रका नागरिक शुद्ध पानीको पर्खाइमा छन् । तर, उनीहरुको पर्खाइ पनि डेढ दशक पुरा भइसेको छ ।

आर्थिक वर्ष ०५९÷६० देखि निर्माण थालिएको गोलधाप खानेपानी आयोजना अहिलेसम्म पुरा भएको छैन । गोलधाप बजार दक्षिण ठिङग उभिएको ट्याङकी हेरेर पानीको प्यास मेटाइरहेको स्थानीयवासीले व्यङग गरेका छन् । खानेपानी आयोजनामा निर्माण समितिको हेल्चेक्राई र सरकारी बजेटको अभावले समस्या देखाइरहेको स्थानीय अगुवाहरुको भनाई छ । खानेपानी आयोजना स्थलमा रहेको मुल ढोका खियाले ढाकिसकेको छ । आयोजना परिसर झाडीले भरिएको छ । लथालिङग अवस्थामा रहेको सो आयोजनामा राजनीति खिचातानीले पनि समय मै निर्माण पुरा हुन नसकेको आरोप लगाइएको छ ।

१५ वर्षको अवधीमा सो आयोजनाले धेरै अध्यक्ष पाएपनि काम भने सफल नभएको देखिएको छ । अहिले सो आयोजना सफल बनाउन स्थानीय अगुवा सुरेन्द्र खनालले अध्यक्षको जिम्मेवारी पाएका छन् । तर, उनले पनि स्थानीयवासीलाई कहिले देखि पानी उपलब्ध गराउन सकिन्छ भन्ने बारे मुख खोल्न सकेनन् । जानकारहरुका अनुसार सो टुयाङकीमा चुहिने समस्या रहेको छ । वर्तमान अध्यक्ष खनालले चुहिने सम्बन्धमा पानी जमाएर परिक्षण नगरुञ्जेल केहि भन्न नसकिने बताएका छन् । ‘पानी जमाएर परिक्षण गर्दा चुहिएन भने पानी बैशाखसम्म उपभोक्तासम्म पु¥याउने ’ अध्यक्ष खनालले भनेका थिए ।
ट्याङकी निर्माण भएको १० वर्षभन्दा बढि भइसक्यो, खनालले भने– धेरै ठाउँमा पाइप विस्तार भइसक्यो, विवादहरुले गर्दा समयमै पानी उपलब्ध गराउन नसकेको हो । सो क्षेत्रका नागरिक आइरनयुक्त पानी पिउन बाध्य छन् । पानी पहेलो आउँछ, बाध्यताले पिइरहनु परेको अधिकांशको भनाई छ ।

गत वर्ष हल्दिवारी गाउँपालिकाले १२ लाख उपलब्ध गराएको थियो । सो बजेटबाट प्रविधि खरिद गरेको अध्यक्षको भनाई छ । अहिले सरकारबाट थप ५ लाख सहयोग जुटेको जानकारी दिए । ३ करोड ६० लाखभन्दा बढि खर्च भइसकेको आयोजनमा थप २ करोडभन्दा बढि खर्च आउने बताइएको छ । टिओडी मिटर जडान गरेर १५ दिनभित्र पानी चढाउने योजना रहेको अध्यक्ष खनालले जानकारी दिएका छन् ।
यता , हल्दिवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले अबको एक महिनाभित्र उपभोक्ताले पानी पिउन पाउने जानकारी दिएका छन् । उनले पानी वितरणको काम अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]