बैशाख २७, २०८१ बिहीबार

सामुदायिक विधालयमा अध्ययनरत बिर्तामोडका विधार्थीलाई पोसाक

झापा । बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो ।

बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेश प्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवास सहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो ।

बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १६४ जना, वडा नम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा ८३ जना, जनता प्राथमिक विद्यालय खालवाडीमा १४७ जना र वडा नम्बर ८ देवनियाँमा रहेको शुक्रराज आधारभुत विद्यालयमा १६८ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताए । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेकाकारण विद्यार्थीहरु विद्यालय जान समेत नमान्ने गरेको भन्दै उनले पोशाक वितरणले विद्यालयप्रति आकर्षण समेत बढ्ने बताए ।

यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाए पनि ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताइन् । कतिपय विद्यार्थीहरुले आफुसँग अरुको जस्तो ड्रेस नभएकाकारण मन दुखाउने, हिनतावोध गर्ने भएकालेपनि विद्यार्थीहरुमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको उनको भनाई छ ।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणको मुख्य उदेश्य समानता कायम गर्नु रहेको बताए । उनले सबै बालवालिकाहरुलाई एउटै प्रकारको पोशाकमा,एउटै खालको वातावरणमा घुलमिल हुन सिकाउने उदेश्यले यो कार्यक्रम अघि बढाइएको बताएका छन् । पोशाक वितरणले वालवालिकाहरुलाई उत्साह मिलेको विश्वास व्यक्त गरेका छन् ।

पोशाक वितरण कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्गवा, वडा नम्बर ७ की कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल,सिएच गार्मेन्ट विर्तामोडका सञ्चालक मोती गौतम, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बिहीबार देखि नगरका २ वटा धार्मिक सहित बाँकी १६ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]