जेष्ठ ६, २०८१ आईतबार

डेढ करोड हिनामिना गरेर वेपत्ता पतालगंगा सहकारीका अध्यक्ष खनाल फेसबुकमा सक्रिय

बिर्तामोड । गत भदौंदेखि सम्पर्कबिहीन पताल गंगा सहकारी संस्था लि.बिर्तामोडका अध्यक्ष रेवती खनाल सामाजिक सञ्जाल फेसबुकमा सक्रिय भएको भेटिएको छ । बुधबार उनले सामाजिक सञ्जालमा १ करोड ५६ लाखको हिसाव कसरी आयो भन्दै लेखेका थिए ।

संस्थाका कार्यवाहक अध्यक्ष मोहन विक्रम मल्लले सामाजिक सञ्जालमा अनलाइन देखिएको बताए । उनले एक पटक संस्थाको कार्यालयमा फोन समेत गरेको जानकारी दिए । मल्लले भने, उहाँको पुरोनो नम्बरबाट फोन आएको थियो, उठाउने वित्तिकै काट्नु भयो । संस्थाका कर्मचारीसँग हिसावका बारेमा खनालले कुराकानी गरेको बुझिएको छ ।

सामाजिक सञ्जालमा खनालले लेखेका छन्, समस्याको समाधान मैले गर्न सक्छु होला । तर बदनाम गर्ने उदेश्यले मेरो चरित्र हत्या गर्न खोज्ने ब्यक्तिहरुलाई के भन्न सक्छु र । सन्दर्भ :पताल गङ्गा साकोस । १.५६ करोडको हिसाब कसरी आयो ? त्यो जानकारी पाउँ है, हिसाब त होला नि म सँग नि ।

सम्पर्कबिहीन भएको थाहा हुना साथ संस्थाले बुझ्दा उनकी श्रीमति कमला खनालले तीजको भोलीपल्टदेखि उपचार लागि भन्दै काठमाडौं गएको बताएकी थिएन् । उपचार गर्न काठमाडौं गएको श्रीमतिको प्रतिक्रिया थियो । उनलाई सहकारीको १ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेर बेपत्ता भएको आरोप लागेको छ । संस्थाले लेखापरीक्षण गरेरै सो हिसाव निकालेको कार्यवाहक अध्यक्ष मल्लको भनाई छ ।

तत्कालै परिवारले खोजी गर्दा समेत फेला नपरेका खनाल विरुद्ध सहकारी संस्थाले खोजी गरिदिन इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएको थियो । अध्यक्ष मल्लले फेसबुकमा अनलाइन देखिएपछि प्रहरीलाई जानकारी गराएको इजलाससित बताए ।

संस्थाले सम्पर्क बिहीन भएका खनाल परिवारको सम्पर्क मै भएको आशंका गरेको थियो । यता, खनालका भाई सागरले परिवारसँग सम्पर्कमा नभएको दावी गरे । उनका अनुसार दाईले भाइटिकाको दिन बेलुका फोन गरेका थिए । फोनमा हालखवर सोधेर राखेदेखि फेरि सम्पर्क नभएको भनाई छ । उनले दाईलाई सम्पर्कमा आएर व्यवहार मिलाउन समेत आग्रह गरेको सुनाए ।

तत्कालिन अध्यक्ष खनालले परिवारभित्र श्रीमति , भाई र आफ्नै आफन्तको नाममा कर्जा लिएको लेखापरीक्ष्णबाट खुलेको संस्थाले जनाएको छ । खनाल संस्थाका अध्यक्षसहित व्यवस्थापकको जिम्मेवारीमा कार्यरत थिए । संस्थाभित्र तलमाथि थाहा पाएपछि अन्य सदस्यहरुले हिसाव खोज्दा लगत्तै खनाल सम्पर्कबिहीन भएको मल्लको बुझाईको छ ।

संस्थाको खाताबाट रकम निकासा गर्न तीन जनाको हस्ताक्षर चलाइएको थियो । अध्यक्ष, उपाध्यक्ष र लेखापालको हस्ताक्षरबाट रकम निकासा गर्दै आएको संस्थामा उपाध्यक्ष नभएको खण्डमा लेखापालबाट रकम निकाल्न मिल्ने व्यवस्था मिलाइएको थियो । अध्यक्ष खनालले लेखापाललाई हस्ताक्षर गराउँदै रकम निकासा गरेको देखिन्छ, मल्लले भने – लेखापाललाई समेत अध्यक्षले झुक्याए । किर्ते हस्ताक्षर गरेर अध्यक्ष खनालले रकम निकासा गरेको पाइएको छ । खनाल जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक समेत हुन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]