एयरहोस्टेजको आइडीबाट ठगि गर्ने बिर्तामोडबाट पक्राउ, गायक राजेश पायल राई समेत गुम्राहमा
बिर्तामोड । एयरहोस्टेजको परिचय दिएर ठगि गर्ने युवतीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

झापा अर्जुनधारा–६ बस्ने २७ वर्षीया तविता राईले जेट एयरलाइन्सको एयरहोस्टेज भन्दै विभिन्न मुलुकमा रहेका नेपाली युवालाई प्रलोभनमा पारेर ठगि गर्ने गरेको खुलेको छ । उनले आफ्नो फेसबुकमा फरक नाम र तस्वीर राखेर नेपाली युवाहरुसँग कुरा गर्दै रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट सार्वजनिक भएको छ ।
नक्कली फेसबुक एकाउण्ट खोलेर रिक्वेस्ट पठाउँदै कुराकानी गरेर विवाहसम्मको प्रस्ताव राख्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकी युवतीले बुवा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट हुनुहुन्छ भनी आफ्नो परिचय दिदैंं आएकी थिइन् ।

झापा गाउँपालिकास्थित एक निजी विधालयमा शिक्षिकाको रुपमा काम गर्ने राईले चर्चिक गायक राजेश पायल राईलाई समेत झुक्याइरहेको प्रमाण फेला परको छ । गायक राईले समेत गुरास श्रेष्ठको नामबाट सञ्चालित फेसबुकबाट तवितासँग कुराकानी गरेको भेटिएको छ । एउटा अन्तरवार्ताको स्कृप्टमा रेखा, केकी वा गुरास को सँग विहे हुदैछ भन्ने समेत लेखिएको पाइएको छ ।
मोवाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी नजिक हुने र लामो समय कुराकानी गरेपश्चात विवाह गर्नेसम्मको प्रलोभन दिई विभिन्न आकस्मिक समस्या देखाई पुरुष व्यक्तिहरुसँग रकम माग गरी झुक्याई रकम ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धम्की समेत दिने गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेकी राईलाई झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप भई अनुसन्धान शुरु गरिएको छ । अनुसन्धानका क्रममा उनले नक्कली फेसवुक आइडिमा अर्काको फोटोहरु राखेकोले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको पाइएको छ । जेट एयरलाइन्सको एयर होस्टेसको फोटोहरु इन्स्ट्राग्रामबाट निकाली आफुले खोलेको नक्कली फेसवुक आइडिमा फोटोहरु अपलोड गर्ने गरेको प्रहरीले फेला पारेका छन् । ठगि गर्ने युवतीलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तरगत कानूनी कारवाही हुने झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
जापानमा बस्ने दुई युवकले आफु ठगिएको थाहा पाएपछि बिर्तामोडमा उजुरी गरेका थिए । बिर्तामोडबाट रकम निकालेको थाहा पाएपछि काठमाठौं र खोटाङ घर भएका दुई युवाले इलाका प्रहरी कार्यालय अनारमनी उजुरी दिएका हुन् । उनीहरुले राईलाई मोवाइल र पैसा पठाएका थिए ।