बैशाख १२, २०८१ बुधबार

कनकाई नगरपालिकाले एक वर्षमा पनि राख्न सकेन अक्सिजन प्लान्ट, दाताहरु नै अन्यौलमा

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो । २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो । घोषणासँगै आर्थिक संकलन थालेको नगरपालिकाले अहिलेसम्म प्लान्ट सञ्चालनमा ल्याउन सकेको छैन ।

चैत महिनामा सो अभियान सञ्चालन गरेको एक वर्ष पुगेको छ । प्लान्ट बनाउन सहयोग गर्ने दाताहरु अहिलेसम्म नगरपालिकाले प्लान्ट शुरु नगर्दा अन्यौलमा परेका छन् । नगरप्रमुख राजेन्द्र पोखरेलले तीन महिनाभित्र प्लान्ट स्थापना गर्ने घोषणा गरेका थिए । उनले भनेको तीनमहिनापछि थप ६ महिना वितिसकेको छ ।

कोरोना महामारीमा अक्सिजनको हाकाकार भइरहेको बेला कनकाई नगरपालिकाले प्लान्ट नै बनाउने घोषणा गरेको थियो । तत्कालिन महामारीको पीडामा सबैले प्लान्टका लागि मन खोलेर सहयोग गरेका थिए । कोभिडका विरामीलाई लक्षित गरेर थालिएको अभियान संक्रमण दर लगभग सकिएपछि पनि प्लान्ट शुरु गर्न आवश्यक उपकरण आइसकेको छैन ।

नगर प्रमुख राजेन्द्र पोखरेलले १४ औं गणतन्त्र दिवसका दिन आफ्नै पारिश्रमिक उपलब्ध गराउँदै थालिएको अभियानमा देश विदेशबाट मात्रै ५७ लाख ९२ हजार २ सय ६२ रुपैयाँ संकलन भइसकेको छ । स्थानीय दाता, संघसंस्था, जनप्रतिनिधि, कर्मचारी, विधार्थी लगायतले कोभिड संक्रमतिको उपचारमा सहयोग गर्न आर्थिक सहायता गर्दा पनि समयमा जडान हुन नसक्दा अभियानकै आलोचना भइरहेको छ ।
कनकाई नगरपालिकाले ढिलाई हुनुमा विभिन्न प्राविधिक समस्या भएको प्रतिक्रिया दिदैं आएको छ । पहिलो टेण्डरमा कसैले पनि आवेदन नदिएपछि नगरपालिकाले दोस्रो पटक टेण्डर गरेको थियो, योजना शाखा प्रमुख विवेक भण्डारी भन्छन्, – अहिले सम्झौता भइसकेको छ । सम्झौताको तीन महिनाभित्र जडान गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

अक्सिजन भर्ने (रिफिलिङ ) सहितको प्लान्ट जडानका लागि कनकाईसँग सातदोबाटोको एभरेष्ट लाइन कम्पनीसँग सम्झौता गरेको योजना शाखा प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार १ करोड ५९ लाखमा सम्झौता सम्पन्न भएको छ ।

युरोपियन स्टाण्डरको उपकरण ल्याउने गरि सम्झौता भएको छ, भण्डारीले भने – उच्च स्तरको उपकरण ल्याउने भनेकाले पनि अलि ढिला भयो । नगरमा बसेको सर्वदलीय बैठकमा सहयोगका लागि सार्वजनिक रुपमा सहयोगको आव्हान समेत गरिएको थियो ।

१ करोड दाताबाट उठाउने र बाँकी रकम नगरले व्यवस्था गरेर २ करोडको मेसिन जडान गर्ने सोच नगरपालिकाले बनाएको थियो । तर, नगरपालिकाको आव्हानमा १ करोड जुटेन । लक्ष्य अनुसारको बजेट नजुटेपछि डेढ करोड बढिको ठेक्का सम्झौता गरिएको छ ।
कनकार्य नगरपालिकाले गएको माघ ११ गते मात्रै ठेक्का सम्झौता गरेको कामजातबाट खुलेको छ । मेयर पोखरेलले १० लाखको चेक दिएको ९ महिनापछि मात्रै ठेक्का सम्झौता भएको पाइएको छ ।

झापामा एकका लागि एक अभियानले अक्सिन बैंक स्थापना गर्दा सबै स्थानीय तहलाई सहयोगका लागि आव्हान गरेको थियो । त्यहि बेला कनकाईले भने आफै अक्सिजन प्लान्ट राख्ने घोषणा गरेको थियो । अभियानले तत्कालै अक्सिजन सिलिण्डर ल्याएर संक्रमितलाई सेवा दियो भने कनकाईले हालसम्म काम सकेको छैन ।

सहयोग फिर्ता हुनुपर्छ : प्रसाई
नेपाली कांग्रेस कनकाईका सभापति दुर्गा प्रसाईले दाताले सहयोग गरे अनुसार नगरपालिकाले काम नगरेको बताएका छन् । उनले तत्कालै प्लान्ट जडान नगरे दाताको सहयोग फिर्ता गर्न माग गरेका छन् ।

केहि समयअघि पालिकालाई खवरदारी गरे पनि नगरले खासै चासो नगरेको बताए । सभापति प्रसाईले भने, ‘शुरु गर्न र व्यवस्थापनका लागि दुई पटक बैठकमा बसिएको थियो । त्यसपछि के भइरहेको छ जानकारी छैन ।’

उनले नगरले अभियान थालेर लक्ष्य अनुरुप काम गर्न नसक्दा लाजमर्दो भएको बताए । सबैले उत्साहित भएका सहयोग गरेका थिए, तर उत्साहको भावना मर्मलाई नगरले बुझ्न सकेन, उनले थपे ।

चकित छु : माओवादी अध्यक्ष
माओवादी केन्द्रका कनकाई अध्यक्ष यामनाथ सेंडाइले आफु पनि अक्सिजन प्लान्ट नजोडिएकोमा चकित भएको बताएका छन् । सर्वदलीय बैठकले नै निर्णय गरेको थियो, मेयरले तत्कालै जडान गर्ने भन्नुभएको थियो, उनले भने – अहिलेसम्म जडान नहुँदा हामीलाई पनि कौतुहलता लागेको छ ।

संकलन भएको पैसा कहाँ छ, काम के भइरहेको छ, नगरबासी समेत अनविज्ञ भएको उनको भनाई छ । नगरपालिकाले निकै महिनादेखि सर्वदलीय बैठक समेत नबसाएको सेडाईले इजलाससित बताए ।

सामान भन्सारमा छ : ठेकेदार कम्पनी
प्लान्टका लागि ठेक्का पाएको एभरेष्ट लाइनका प्रतिनिधि आयुस जोशीले रिफिलिङ गर्ने उपकरण बाहेक अन्य सामग्री नेपाल आइसकेको बताएका छन् । उनले अन्य सामान भन्सारमा रहेको जानकारी दिए ।
कम्पनीका प्रतिनिधि जोशीले टर्कीबाट सामान आयात गरिएको बताएका छन् । उनले फागुनको अन्तिमसम्ममा जडान गर्ने योजना सुनाए ।

मेयरलाई नै सोध्नु : प्रवक्ता
कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौडेलले यसबारे आफु जानकार नभएको जानकारी दिए । उनले किन ढिलाई भएको हो भन्ने विषयमा बुझ्न मेयरलाई नै सोध्नुपर्ने बताएका छन् ।

कार्यपालिकाबाट निर्णय भएको विषय नभएकाले यसबारे आफुलाई थाहा नभएको उनको भनाई छ । प्रवक्ता पौडेलले भने – मेयर सावको अभियान भएकाले किन ढिलाई भयो ? उहाँलाई थाहा हुन्छ ।

यसबारे बुझ्न पटकपटक सम्पर्क गर्दा मेयर राजेन्द्र पोखरेलसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]