हल्दिबारीमा ३० हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
रोहित काफ्ले
हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकामा यस वर्ष ३० हजार ९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।
झापामा हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन गरिने हात्तीपाइले रोग निवारण कार्यक्रमअन्र्तगत औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरिएको पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य शाखाले सो तथ्यांक सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले हात्तीपाइले रोगका कारण, निदानका उपाय, आमऔषधि सेवन अभियान र यसको प्रभावकारिता बारे जानकारी गराएका छन् ।
उनले सर्वसाधारणमा औषधि सेवन गर्ने जागरुकता कम पाइएकोले हात्तीपाइले रोगले पुर्याउन सक्ने क्षति र औषधि सेवन गर्दा हासिल हुने फाइदाका बारे सचेतनामूलक र प्रचारात्मक कार्यक्रमहरुलाई गाउँ–टोलसम्म पुर्याउनुपर्ने आवश्यकता देखिएकोले स्वास्थ्य शाखाले सोही अनुसार अभियानलाई तीव्रता दिइएको उल्लेख गरे ।

गाउँपालिकाका प्रशासन प्रमुख राजन न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा अध्यक्ष लिङदेनले कष्टकर अपांगता आउनसक्ने हात्तीपाइले रोगलाई सामान्य रुपमा नलिई यसलाई निवारण गर्न र आफू स्वस्थ रहन औषधि सेवन गर्न मिल्ने सबैले औषधि सेवन गरेर यो रोग निवारणमा योगदान दिन गाउँवासीसँग आग्रह गरेका छन् ।
एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो । सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको निरौलाले जानकारी दिए ।
ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा–हात सुन्निने, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधि औषधि सेवन गर्नुपर्ने हुन्छ ।
उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा सात दिनसम्मका सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।