बैशाख २७, २०८२ शनिबार

लामिछानेको बैंक खाता खोज्न राष्ट्र बैंकलाई पत्र

काठमाडौं, ९ भदौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रवि लामिछानेसहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै प्रहरीले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी न्यू २४का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण मागेको हो ।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण समावेश छ ।

चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधा कुरा जनतासँगको टिमले करोडौं रकम उठाउने गरेको उल्लेख गरेका थिए । रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए ।

यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबारको अनुसन्धान शुरु गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मीले मृतकले भिडियोमा बोलेको विवरणको सत्यता जाँच्न राष्ट्र बैंकलाई पत्र लेखेको जानकारी दिएका छन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा शालिकरामले बोक्ने सामसुङ जे सिक्स मोबाइल खरिद गरेदेखि साउन २० सम्म गरी ६४ गिगा बाइट (जिबी) डाटा समेत प्रमाणमा रुपमा पेश गरेको छ । शालिकरामले विभिन्न समयमा मेटाएका भिडियो र फोटो समेत रिकोभर भएका छन् ।

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ ।

भदौ ४ प्रहरीले पठाएको पत्र अझैसम्म राष्ट्र बैंक पुगेको छैन । प्रहरीले अनुसन्धानका लागि पठाउने राष्ट्र बैंकको ‘अनुसन्धान विभाग’मा अनुरोध गर्छ । राष्ट्र बैंकमा सो विभाग हेर्ने प्रमुख अधिकारी देबकुमार दाहाल रवि लामिछानेको हकमा लेखिएको पत्र आइनपुगेको बताएका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]