आँखा, कान शिविरमा ३ सयभन्दा बढी लाभान्वित
इन्द्रकुमार राई
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ३ खुदुनाबारीस्थित स्वास्थ्य चौकीमा आँखा र कान सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार संचालन गरिएको छ ।
स्थानीय ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको आयोजना तथा अर्जुनधारा नगरपालिकाको प्रायोजना र दृष्टि आँखा अस्पताल सैनिकमोड विर्तामोडको प्राविधिक सहयोगमा नगरक्षेत्र भित्र रहेका आँखा र कानको रोगीहरुलाई सेवा पु¥याउने उद्धेश्यले स्वास्थ्य शिविर संचालन गरिएको हो ।

अर्जुनधारा नगरपालिकाकी उप–मेयर कमला खतिवडा आचार्यले स्वास्थ्य शिविर उद्घाटन गरेकी थिइन् । शिविरमा दृष्टि आँखा अस्पतालका आँखा विशेषज्ञ डाक्टर अजित कुमार ठाकुरको नेतृत्वमा कान विशेषज्ञ डाक्टर श्यामसुन्दर यादव, प्राविधिकद्वय कौशल किशोर र सुमन केरुमले सेवा प्रदान गरेका थिए । सो अवसरमा आँखा कम देख्नेहरुलाई हेल्पिङ हेण्डस् कम्युनिटी हस्पिटलले २ सय थान रिडिङ ग्लास (चश्मा) निःशुल्क वितरण गरिएको हस्पिटलका कुमार अनुरागीले जानकारीले दिए । उक्त शिविरमा २ सय ३९ जनाको आँखा र ९३ जनाको कान परीक्षण गरिएको बताइएको छ ।
ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराई सभापतित्व रहेको शिविर उद्घाटन समारोहमा समाजका नरेन्द्र तिम्सिनाले स्वागतसहित कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । समारोहमा प्रमुख अतिथि खतिवडा, दृष्टि आँखा अस्पतालका डाक्टर ठाकुर , मिलन समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम लगायतले मन्तव्य राखेका थिए ।